नौ वर्षीया र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मुजफ्फरपुर जिल्ला घर भइ ललितपुर महानगरपालिका–५, थसिखेल बस्ने २२ वर्षीय धिरज चौधरीलाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।
पीडितद्वयलाई आरोपितले वैशाख २० गते पालै पालो बलात्कार गरेको आरोपमा वैशाख २१ गते पीडित बालिकाका अभिभावकले महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका थिए ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण वैशाख २१ गते पाटन अस्पताल लगनखेलमा गरिएको प्रहरीले जनायो ।
त्यसैगरी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२ घर भइ ललितपुर महानगरपालिका–१८, चोभार भञ्ज्याङमा झारफुक गरी बस्ने ६५ वर्षीय धनलाल बल तामाङलाई ०७६ वैशाख २० गते गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २० गते झाडीमा लगेर बलात्कार गरिरहेको अवस्थामा स्थानीयले फेला पारी आरोपितलाई प्रहरीकोमा बुझाएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नारायण चिमोरियाले बताए ।
वैशाख २० गते राती नै पीडितका अभिभावकले महानगरीय प्रहरी परिसर जावलाखेलमा दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको डिएसपी चिमोरियाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २० गते पाटन अस्पताल लगनखेलमा गरिएको प्रहरीले जनाएको छ ।