दुषित पानी पिउँदा मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा झाडा पखलाको प्रकोप देखिएको छ । जसका कारण एउटै गाउँका ९६ जना एकैचोटी बिरामी परेका छन् ।
बिरामी परेकामध्ये चार जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि तम्घास तथा पाल्पा पठाइएको छ ।
स्थानीय ५९ वर्षीया कुमारी सिंजालीलाई थप उपचारको लागि पाल्पा पठाइएको मुसिकोट नगरपालिकाका कार्यकापालिका सदस्य हरी छन्तेलले जानकारी दिए ।
वैशाख ८ गते सामान्य रूपमा चार÷पाँच जना बिरामी भएका थिए । वैशाख ९ गते थप २६ जना एक्कासी बिरामी परे । बिस्तारै गाउँका सबैजना बिरामी पर्दै आएकाले समस्या भएको छन्तेलले बताए ।
गाउँका सबैजसो नै बिरामी पर्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालय, मुसिकोट नगरपालिकाको वडा नम्बर २, ३ तथा ४ का स्वास्थचौकीले संयुक्त रूपमा शिविर खडा गरेर उपचार गरिरहेको स्थानीय युवा बिमल छन्तेलले बताए ।
बिरामी परेका मानिसहरू मध्ये अधिकांशमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न स्वास्थ्य कार्यालयका श्रीकृष्ण भटराइले जानकारी दिए । दुषित पानी पिउँदा यस्तो समस्या देखिएको स्वस्थ्यकर्मीहरूको भनाई छ ।
दजाकोटका ८५ घरधुरीले अझै पनि दुषित पानी पिउन बाध्य भएका छन् । करिब तीन वर्ष अगाडि भएको आगलागीपछि दजाकोटका स्थानीयलाई खानेपानी सङ्कट रहँदै आएको छ ।
अहिले उनीहरूले स्थानीय नौर खोलाको पानी खाइरहेका थिए । अवस्था अझ विकराल हुने अवस्था नियन्त्रण गर्न आज बिहानै स्वास्थ्यकर्मी र औषधिसहित दजाकोट पुगेर उपचार गरिएको मेयर सोमनाथ सापकोटले बताए ।
उनले अहिले बिरामीहरू डिस्चार्ज हुने क्रम चलिरहेको बताए । दुषित पानी जाँच गर्नको लागि जिल्ला खानेपानी तथा सरसफाई डिभिजनमा पठाइएकाले रिपोर्टको आधारमा खानेपानीको व्यावस्थापन गरिने सापकोटाले बताए ।

