तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा खडक नपा–७ कल्याणपुर लबटोलीया घर भई तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहरास्थित माइतीघर बसेकी २२ वर्षीया सुनीता भनिने सोनिताकुमारी रामलाई जिल्ला अदालतले वैशाख १२ गते ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले आंशिक अभियोग दावी पुग्ने फैसला गर्दै आरोपितलाई ६ महिना कैद सजायको अन्तिम फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
पीडित महिलालाई आरोपितले ०७५ असोज २२ गते कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरी कुटपिट गरेको भन्दै पीडितले असोज २३ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।
पीडितको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा असोज २३ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपितलाई असोज २३ गते गिरफ्तार गरी भेदभाव तथा अन्य अपराधजन्य व्यवहारमा उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतले ०७५ कात्तिक १५ गते आरोपितलाई २५ हजार रुपियाँ धरौटी लिई पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।