जिल्ला अस्पताल बैतडीले सञ्चालन गर्दै आएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीहरू समस्यामा परेका छन् । एम्बुलेन्स बिग्रेपछि मर्मत नहुँदा बिरामीहरूलाई समस्या हुँदै आएको हो ।
मर्मत गर्ने पैसा नहुँदा विगत दुई महिनादेखि एम्बुलेन्स सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदीश विष्टले बताए । एक हप्ताअघि धनगढी लगेर मर्मत गरेर ल्याए पनि केही दिन चलेपछि पुनः खराब भएको बिष्टले बताए ।
‘अस्पतालको सबै बजेट नगरपालिकामा रहेको र चाहिएको समयमा रकम निकासा गर्न नै झन्झट हुने भएकाले एम्बुलेन्स मर्मत हुन सकेको छैन ।’–उनले भने ।
एम्बुलेन्स मर्मत नहुँदा जिल्ला अस्पताल ल्याउन र अन्यत्र रिफर गरिएका बिरामी बोक्न महङ्गो भाडाका जिप प्रयोग गर्न बाध्य भएको स्थानीयको गुनासो छ ।
‘भनेको बेलामा कहिले एम्बुलेन्स मिल्दैन ।’–स्थानीय जयदत्त पाण्डेयले भने । स्थानीय तहमा बजेट आएपछि अस्पतालमा अत्यावश्यक सामग्री खरिद गर्न समेत बजेट नभएको डा. विष्टले बताए । देश सङ्घीय संरचना गइसकेपछि जिल्ला अस्पताल नगरपालिका मातहत राखिएको छ । यसले गर्दा अस्पतालका अत्यावश्यक कामहरू समेत प्रभावित भएका डा. बिष्टको भनाई छ ।
जिल्ला अस्पतालले पनि सहज रूपमा एम्बुलेन्स सञ्चालन गर्न सकेको छैन । बेलाबेलामा बिग्रने समस्याले बिरामीहरूले सहज सेवा पाउन सकेका छैनन् ।
जिल्लामा दशरथचन्द स्मृति प्रतिष्ठान, देहिमाडौँ स्वास्थ्यचौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र पुर्चौडी नगरपालिकाले मात्र एम्बुलेन्स सुचारू छन् ।
आकस्मिक अवस्थामा २४ सै घण्टा सेवा दिन तत्पर हुनुपर्ने एम्बुलेन्स जस्तो अत्यावश्यक साधन समयमै मर्मत नहुँदा स्थानीयले सास्ती पाएका छन् ।
एम्बुलेन्स मर्मतको लागि नगरपालिकाले पहल चालेको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए । एम्बुलेन्स बिग्रेको जानकारी पाएपछि मर्मतको लागि अस्पताललाई भनिसकेको नगरप्रमुख थापाले बताए ।