लिसंखुपाखर गाउँपालिका-७ स्थित डाँडापाखर स्वास्थ्य चौकीमा झाडापाखाला लागेको बिरामीलाई अतिआवश्यक पर्ने औषधि जीवनजल समेत नहुँदा स्वास्थ्य चौकीमा आएका बिरामीहरू मर्कामा परेका छन् ।
पखाला लागेपछि डाँडापाखर स्वास्थ्य चौकी आएकी लिसंखुपाखर गाउँपालिका–७ की अन्जु लामाले जीवनजल नपाएर रित्तो हात घर फर्केको बताइन् ।
चैत २८ गते स्वास्थ्य चौकी पुगेका लिसंखुपाखर गाउँपालिका–७ का ५४ वर्षीय रामजी तामाङले पनि जीवनजल समेत नपाएको इन्सेक जिल्ला प्रतिनिधिलाई सुनाए ।
डाँडापाखर स्वास्थ्य चौकीका इन्चार्ज अहेब लक्ष्मीकान्त बजगाईँले बिरामीहरूको चापलाई भन्दापनि सबै वडाका स्वास्थ्य चौकीहरूलाई समानुपातिक रूपले गाउँपालिकाले औषधि वितरण गरेका कारण डाँडापाखर स्वास्थ्य चौकीमा औषधिको अभाव भएको बताए ।
जनसङ्ख्याको हिसावले अरू वडा भन्दा ठूलो भएको र बिरामीहरूको सङ्ख्यापनि धेरै भएकाले औषधि नपुग भएको उनको भनाइ थियो ।
मौसमी बिरामी तथा झाडापखाला रोगका बिरामी धेरै आउने भएकाले जीवनजलको अभाव मात्र होइन जुकाको औषधि समेत नभएकोे स्वास्थ्य चौकीमा कार्यरत अनमी सानुदेवी जिरेले बताइन् ।
गाउँपालिकाका अध्यक्ष कमल नेपालले भने स्वास्थ्य चौकीका इन्चाजले समयमा माग नगरेका कारण अहिले केही औषधिको अभाव भएको हुन सक्ने बताए । उनले भने–‘त्यसलाई तत्काल पूर्ति गर्छौँ ।’