INSEC Online

📅 २०८३ जेष्ठ २२

प्राविधिकको असन्तुष्टिले छुट तथा पुन जाँच सर्वेक्षण कार्य प्रभावित

प्राविधिकको आन्दोलनले गोरखामा निजी आवास पुनर्निर्माण प्रभावित बनेको छ । चैत २० गतेबाट गोरखामा छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने तयारी गरिएको थियो ।

चैत १८ र १९ गते छुट तथा पुन जाँच सर्वेक्षणमा पठाउन २४ जना प्राविधिकलाई तालिम दिइएको थियो ।

तालिम पश्चात् चैत १९ गते प्राविधिकहरूले दैनिक भत्तामा थोरै भएको भन्दै छुट तथा पुन जाँच सर्वेक्षण कार्यक्रम वहिष्कारको घोषणा गरे ।

‘एक दिनको भत्ता ९ सय रुपियाँ दिने भनिएको छ । १ हजार ६ सय रुपियाँ दिए मात्र फिल्डमा खटिन्छौँ । नत्र काम गर्न सक्दैनौँ भनेर जानकारी गराइसकेका छौँ ।’–प्राविधिक विवेक बरालले भने ।

प्रत्येक स्थानीय तहमा दुईजना प्राविधिक छुट तथा पुन जाँच सर्वेक्षणका लागि पठाउने तयारी गरिएपनि प्राविधिकले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय अन्यौलमा परेको छ ।

लाभग्राही सूचीमा समावेश नभएका भूकम्प पीडितको घर अन्तिम पटक सर्वेक्षण गर्न लागिएको हो । वडा कार्यालयले यस प्रकारका गुनासोको निवेदन सङ्कलन गरेर स्थानीय तहले आवश्यकता अनुसार प्राविधिक खटाउन सक्ने भनिएको थियो ।

आगामी वैशाख मसान्तसम्म सो कार्य सक्ने लक्ष्य राखिएपनि प्राविधिकको असन्तुष्टिले काम गर्न नै समस्या भएको एकाइका प्रमुख रामशरण आचार्यले बताए ।

‘चैत १५ गतेबाट फिल्डमा खटाउने तयारीमा थियौँ । प्राविधिकलाई १० र ११ गते राखिएको तालिम प्राविधिकले बहिष्कार गरेपछि १८ र १९ गते तालिम चलायौँ ।’–एकाइका प्रमुख रामशरण आचार्यले भने–‘केन्द्रमा प्राविधिकको मागको विषयमा छलफल चलिरहेको छ । अब उहाँहरू आन्दोलन स्थगित गरेर आएपछि फिल्डमा खटाउछौँ ।’

गोरखाका मनपा–११ स्थानीय तहमा २०७६ वैशाख मसान्तसम्म छुट तथा पुन जाँच सर्वेक्षण सक्ने तयारी गरिएको पुनर्निर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

अन्य

भिडियो