त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घरभई लिसंखुपाखर गाउँपालिकाको इञ्जिनियर पदमा कार्यरत कपिल श्रेष्ठलाई सोही गाउँपालिका-१ का वडा सदस्य दावादोर्जे तामाङले इञ्जिनियरकै कार्यकक्षमा गएर कुटपिट गरेको भन्दै चैत १९ गतेदेखि अनिश्चितकालका लागि लिसंखुपाखर गाउँपालिकाका कर्मचारीहरुले कार्यालयको काम ठप्प बनाएर आन्दोलन थालेका छन् ।
स्थानीय भ्याङ्छुप सेम्पा गुम्बा स्तुपाको निर्माणसम्बन्धी विवादमा योजनाको भुक्तानी दिन इञ्जिनियरलाई दबाब दिएपनि नमानेपछि वडा सदस्यले चैत १७ गते दिउँसो कार्यालयमा गएर कुटपिट गरेको लिसंखुपाखर गाउँपालिकाकी महिला कार्यकर्ता नानिमायाँ बस्नेतले बताइन् ।
उनका अनुसार कुटपिटबाट घाइते भएका इञ्जिनियर कपिल श्रेष्ठलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको छ ।
कुटपिटविरुद्ध नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिले चैत १९ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको छ ।
आरोपितलाई कानुनी कारवाही नभएसम्म स्थानीय तहका कार्यालयहरु ठप्प गराएर आन्दोलनमा सहभागी हुन समेत अपील गरेको छ ।
घटनाको विरोधमा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले चैत १९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीमाथि कुटपिट गर्ने वडा सदस्यलाई कारवाहीको माग गरेको छ ।
त्यसैगरी लिसंखुपाखर गाउँ कार्यपालिकाको कार्यालयले कुटपिट गर्ने आरोपितलाई कानुनी कारवाही नभएसम्म चैत १९ गतेदेखि लिसंखुपाखर गाउँपालिका र सबै वडा कार्यालयहरुबाट सम्पादन हुने कामकाज बन्द गरिएको भन्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
कर्मचारीहरुको आन्दोलनले दैनिक कामकाजका लागि सेवा लिन आएका सेवाग्राहीहरुलाई मर्का परेको गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए ।