INSEC Online

📅 २०८३ जेष्ठ २१

आँधीले क्षणभरमै बिथोल्यो घरसंसार !

“खाना खाएर सुत्ने तरखर गर्दै थियौँ । एक्कासी बाहिर ठुलो आवाज आयो । के भएको हो भन्ने ठम्याउनै सकेनौँ । अल्मलिएकै बेला आँधी भित्र पस्यो । घर नै उडाएर लग्यो । त्यसपछि के भयो भन्नै सकिँदैन । सम्झँदै कहाली लाग्छ ।”

चैत १७ गते आइतबार राति आएको हावाहुरीमा परी घाइते भएका बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरनियाका ३३ वर्षीय मुनाफ अन्सारीले काठमाडौँको त्रिविवि शिक्षण अस्पतालमा सुनाएको घटना वृतान्त हो यो ।

यहाँका अधिकांश घरका छाना फुस र जस्ता पाताका थिए । झण्डै एक मिनेटसम्म चलेको असिनासहितको आँधीले फेटा गाउँका घरहरू मात्र उडाएन । २७ जनाको ज्यान समेत लियो । ६ सय ६८ जना मानिस घाइते भए ।

“आँधीले केही पनि बाँकी राखेन । घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाँडाकुडा सबै उडाएर लग्यो । त्यति बेला त ज्यानकै माया लाग्यो ।”–काठमाडौँमा उपचाररत अन्सारी भन्छन्–“हाम्रो त गाउँ नै बिजोग अवस्थामा छ । यस्तो त अहिलेसम्म देखिएको थिएन ।”

अन्सारीका ५९ वर्षीय बुवा मुवारक मियाका बायाँ गोडा नै काट्नु पर्ने अवस्थामा छ । आफूसमेत घाइते रहेका उनको शरीररको विभिन्न अङ्गमा चोटपटक लागेको छ । परिवारमा रहेका सात जना सबै घाइते अवस्थामा छन् । कोही कलैया अस्पतालमा छन् भने कोही वीरगञ्ज अस्पतालमा । घरका सबैलाइ आफू एक्लैले उद्धार गरेको उनी बताउँछन् । “सबैमाथि एकै पटक विपत पर्‍यो । त्यो अन्धकारमा कसले कसलाई हेर्ने ? धन्न बाँचियो ।”–उनले भने ।

एक मिनेटको आँधीले उनको परिवारमा महाविपत्ति छोडेर गयो । सात जनाले आश्रय लिने घरसँगै तीन जना साना बालबालिकाहरू समेत अस्पतालमा छन् । वीरगञ्जमा उपचारत रहेका बुबालाई  लिएर अहिले उनी काठमाडौँको त्रिविवि शिक्षण अस्पतालमा  छन् । उनका बुबाको बायाँ गोडा काट्नुपर्ने भन्दै उनलाई अर्को चिन्ता थपिएको छ ।

यस्तै ब्यथा छ, फेटा गाउँपालिकाको भलुइ भरभलिया–१ की ३२ वर्षीया रिनादेवी पटेलको । उनका ३६ वर्षीय पति क्रिचन पटेल शिक्षण अस्पतालमै उपचार गराइरहेका छन् । उनी गाउँमा रहेका छोराछोरीको अवस्था र अब कहाँ बस्ने ? के खाने ? भन्ने चिन्ताले सताएको बताउँछिन् । अस्पतालमा कुनै स्वास्थ्यकर्मी देख्ने बित्तिकै उनीहरूको छेउमा पुग्छिन् तर आफ्नो पतिको अवस्थाको बारेमा सोध्ने आँटसम्म गर्दिनन् । दुई कोठाको पक्की घरमा बसोबास गर्दै आएकी रिनाको परिवारका पनि ६ जना नै घाइते अवस्थामा छन् ।

चैत १७ गते भएको हावाहुरीले ६ सय ६८ जना घाइते भएका छन् । जसमध्ये ३ सय ४६ जना सामान्य उपचारपछि घर फर्किसकेको र बाँकी ३ सय २२ जनाको वीरगञ्जका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

हाल शिक्षण अस्पतालमा एक महिला, दुई बालबालिकासहित सात जनाको उपचार भइरहेको छ ।  जसमा ३५ वर्षीया गीता देवी, पाँच वर्षीया समिना खातुन, तीन वर्षीय अमन पटेल, ८० वर्षीय सुरेश पटेल र ३३ वर्षीय मनोज अन्सारी रहेका छन् ।

घाइते भएका सातै जनाको उपचार निःशुल्क गरिरहेको अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए ।

photo20190402kathmandu (1)

photo20190402kathmandu (2)

photo20190402kathmandu (3)

photo20190402kathmandu (4)

photo20190402kathmandu (5)

photo20190402kathmandu (8)

अन्य

भिडियो