राज्यविरूद्ध विभिन्न अपराधजन्य गतिविधि गरेको आरोपमा गिरफ्तार गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरी हिरासतमा प्रहरीले यातना दिएको भन्दै चैत १३ गते जिल्ला अदातलतको परिसरमा पत्रकार र अधिकारकर्मीहरू सँग गुनासो गरे ।
थुनछेक बहसको क्रममा अदालत पुगेका उनीहरूले आफुहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको अवस्थामा चरम यातना दिएको गुनासो गरेका हुन् ।
फागुन १७ गते चौतारा सागाचोकगढी नगरपालिका– १० बाट सो पार्टीका चार महिला सहित १७ जना कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तार गरेकै भोलिपल्टदेखि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रातिको समयमा डण्डीले पैताला र गोडाका विभिन्न अंगमा कुटपिट गरी यातना दिएको सुनसरी जिल्ला इटहरी नगरपालिका–३ घर भएकी १९ वर्षीया मनिषा भन्ने सबिता श्रेष्ठले बताइन् । उनले महिला बन्दीलाई महिला प्रहरीले रातको समय पारेर यातना दिने गरेको गुनासो गरिन् ।
गिरफ्तार गरेको भोलिपल्टबाटै दैनिक जसो रातको समयमा कुटपिट गरी यातना दिएको र यातनाले हिँड्न समेत मुस्किल भएको नुवाकोट जिल्ला तादी गाउँपालिका–१ घरभएका गणेश थापाले बताए ।
प्रहरी हिरासतमा यातना दिएको बारे जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग सम्पर्क गर्दा आफ्नो कार्यालयको हिरासत कक्षमा कसैलाई कुनै किसिमको यातना नदिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासैनीले बताए ।
प्रहरी हिरासतमा महिलामाथि यातना भन्ने शीर्षकमा फागुन २१ गते इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानव अधिकार आयोगबाट समेत चैत १२ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन भएको थियो । यातानाविरूद्ध हालसम्म कतै पनि उजुरी नदिएको पीडितहरूले बताए ।