INSEC Online

📅 २०८३ श्रावण ५

बालगृहका २० जना बालबालिकाको उद्धार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी ०८३ साउन २ गते २० जना बालबालिकाको उद्धार गरेको छ।

बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा अनुगमन गर्दा सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको, शौचालय तथा स्नानघर अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा फरक उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको मन्त्रालयको अनुगमनका क्रममा पाइएको जनाएको छ ।

मन्त्रालयले यस्तो अवस्था बालबालिकाको स्वास्थ्य, सुरक्षा र समग्र हितका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको छ। मन्त्रालयले नेपाल बाल संगठनलाई भौतिक पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबास व्यवस्थित बनाउन यसअघि पटक–पटक निर्देशन दिएको र सम्बन्धित पक्षसँग छलफलसमेत गरेको जनाएको छ । निर्देशनपछि पनि अपेक्षित सुधार नभएपछि स्थलगत अनुगमन गरी उद्धार प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ ।

बालबालिकाको दयनीय बसोबास अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार  गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेलले बताउनु भयो । उद्धार गरिएका बालबालिकाको स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह, संरक्षण तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

साथै, घटनासम्बन्धी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइसकिएको उल्लेख गर्दै बाँकी बालबालिकाको अवस्थाको समेत मूल्याङ्कन गरी आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने मन्त्रालय जनाएको छ।

पार्बती साउद

अन्य

भिडियो