मनपा–२०, हरपतगञ्ज घर भइ वीरगञ्ज मनपा–११ बस्ने ३६ वर्षीया सुनीता यादवलाई नारायणी अस्पतालमा कार्यरत डा.सचितानन्द यादवले कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
चैत ८ गते कुटाइले पीडित सुनीताको मानसिक सन्तुलन पनि गुमेको अवस्था रहेको पीडित पक्षको आरोप छ ।
पीडित महिलाको पुरै शरीरभरी कुटपिट गरी घाँटी थिची हत्याको प्रयास समेत गरेको परिवारजनको आरोप छ ।
उजुरीको आधारमा आरोपितलाई चैत ११ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पीडित यादवको वीरगञ्जको गण्डक अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको उपचारमा संलग्न डा.सुरेन्द्र यादवले बताए ।
पीडित महिलालाई अस्पताल पु¥याउँदा स्वास्थ्य एकदमै नाजुक रहेकोले दिमागमा अक्सिजन नपुगेर हाइपोक्सीया रोगको सिकार हुन पुगेको उपचारमा संलग्न डा. यादवको भनाई छ ।
डा. सचितानन्द यादवसँग १५ वर्ष पहिले वीरगञ्ज गण्डक बहुअरीकी सुनिता यादवको २० लाख रुपियाँ दाइजो समेत दिई मागी विवाह भएको थियो ।
विवाहको एक वर्ष नबित्दै जेठी पत्नीबाट बालबच्चा नपाएको निहुँमा भारतको रक्सौल निवासी एक महिलालाई कान्छी पत्नीको रूपमा घरमा भित्र्याएका थिए ।
त्यसपश्चात डा.यादवले कान्छी पत्नीसँग मिलेर पीडितकी जेठी पत्नी सुनितालाई निरन्तर मानसिक तथा शारिरीक रूपमा यातना दिँदै आएको कारण पीडित महिला डिप्रेसनको शिकार हुन पुगिन् । जसकारण मानसिक रोगको औषधि सेवन गर्नु परिरहेको उनका भाइ सन्तोष यादवले बताए ।
डा.सचितानन्द यादव नारायणी अस्पतालको अलावा आफ्नो नीजि क्लिनिक पनि सञ्चालन गरेर बसेका छन् । कान्छी पत्नीबाट डा. यादवको दुई सन्तान छन् ।
उनी दुवै सन्तान र कान्छी पत्नीसँगै बीरगंजको आदर्शनगरस्थित आफ्नै भवनमा बस्दै आएका छन् । जेठी पत्नीलाई भने आमाबुवासँगै आफ्नो पुख्र्यौली घर पर्साको हरपतगञ्जमा कहिले राख्ने र प्राय माइतीमै छोड्ने गरेको पीडित महिलाको भाइ सन्तोष यादवले बताए ।
विवाहको १५ वर्षमा आफ्नी दिदी ससुराली पक्षबाट कहिल्यै सुख नपाएको र बहिनीको हरेक खर्च आफूहरूले नै व्यहोरदै आएको भाइ सन्तोषले बताए ।
ससुराली पक्षले उनको माइतीमा फोन सम्पर्क गरी आफ्नो बहिनीलाई लिएर जान भनेपछि घर पुग्दा उनको अवस्था ज्यादै नै नाजुक अवस्थामा देखेपछि उनलाई माइती लिएर आएको र घरमै उपचार गर्दा अवस्था नसुध्रिएपछि अस्पताल भर्ना गरेको पीडित महिलाका जेठो दाइ मनोहर यादवले बताए ।
घर लिएर आउँदा ससुराली पक्षकाले खाना समेत नदिएको र कुटपिटबाट पुरै शरीरभरी निलडाम बसेको देखिएपछि यातना दिएको रहस्य खुलेको उनका माइती पक्षको आरोप छ ।