हुम्लाको मध्य तथा दक्षिण क्षेत्रका चार गाउँपालिकाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि परिचयपत्र नम्बर प्राप्त गर्न नसक्दा विभिन्न सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको बताएका छन्।
सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका नागरिकले इलाका प्रशासन कार्यालय सर्केगाडमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराए पनि हालसम्म परिचयपत्र नम्बर प्राप्त गर्न नसकेको गुनासो गरेका हुन्। राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका राहदानी, सामाजिक सुरक्षा भत्ता, बैंकिङ सेवा, सरकारी अनुदानलगायतका सेवामा यसले प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।
चंखेली गाउँपालिका–२ दार्मा गाउँकी अम्बिका जैसीले ०८३ वैशाख १७ गते इलाका प्रशासन कार्यालय सर्केगाडमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गराउनुभएको थियो। तर, आवेदन दिएको दुई महिना बितिसक्दा पनि परिचयपत्र नम्बर प्राप्त नभएको उहाँले बताउनु भयो। ‘दर्ता गर्दा छिट्टै नम्बर आउने भनिएको थियो, तर अहिलेसम्म कुनै जानकारी आएको छैन,’उहाँले भन्नुभयो, ‘पटक–पटक सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुपरेको छ।’
यहाँका नागरिकले सामान्य जानकारी लिनसमेत सदरमुकाम वा इलाका प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको छ। यातायात, समय र आर्थिक खर्चका कारण सेवाग्राही थप मारमा परेका छन्। ग्रामीण क्षेत्रमा इन्टरनेट तथा सञ्चार सेवाको पहुँच कमजोर भएकाले परिचयपत्र सम्बन्धी जानकारी लिनसमेत कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ।
कतिपय सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बरकै अभावमा अत्यावश्यक सरकारी सेवा लिन नसकेको बताएका छन्। प्रभावकारी सेवा प्रवाह नहुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिकले सास्ती भोगिरहेको चंखेली गाउँपालिका–२ का वडा अध्यक्ष जयबहादुर सिराले बताउनु भयो।
उहाँका अनुसार एउटा वडाबाट मात्रै २० देखि २५ जनासम्मले यस्तो समस्या भोगिरहेका छन्। गत असोज–कात्तिकमा जिल्ला प्रशासन कार्यालय हुम्लाले गाउँ–गाउँमा पुगेर राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन गरे पनि त्यस क्रममा विवरण दर्ता गरेका नागरिकले अझ बढी समस्या भोग्नुपरेको उहाँको भनाइ छ।
वडा अध्यक्ष सिराले विवरण दर्तापछि परिचयपत्र नम्बर उपलब्ध गराउने प्रक्रिया छिटो र प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो। सेवाग्राहीले पनि ढिलाइ अन्त्य गरी दुर्गम जिल्लाका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन माग गरेका छन्।
इलाका प्रशासन कार्यालय सर्केगाडका प्रमुख घमनसिंह रावतले कार्यालयमा अनलाइन प्रणाली उपलब्ध नभएकाले सेवा प्रवाहमा ढिलाइ हुने गरेको बताउनु भयो।
उहाँका अनुसार कार्यालयले एक महिनासम्म सेवाग्राहीको विवरण अफलाइनमार्फत संकलन गर्छ। त्यसपछि ती विवरण जिल्ला प्रशासन कार्यालय हुम्ला, सिमकोटमा पुगेर अनलाइन प्रणालीमा राखिन्छ। प्रक्रिया पूरा भएपछि सामान्यतया दुई साताभित्र राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने उहाँले जानकारी दिनुभयो।
प्रमुख रावतका अनुसार गत वर्ष सञ्चालन गरिएको घुम्ती शिविरमा कतिपय सेवाग्राहीका आवश्यक कागजात अपूर्ण हुनु, मोबाइल नम्बर दर्ता नगरिनु वा ओटीपी कोड प्राप्त नहुनुजस्ता कारणले पनि समस्या देखिएको हो।