जिल्ला प्रहरी कार्यालय कालिकोटद्वारा रेडियोको कार्यकक्षबाट गिरफ्तार गरिएका पत्रकार कर्ण विश्वकर्मालाई उनका परिवार, आफन्तसँगको भेटघाटमा प्रहरीले रोक लगाएको छ ।
चैत ७ गते गिरफ्तारीमा परेका रास्कोट नगरपालिका–८ निवासी रेडियो नयाँ कर्णालीमा कार्यरत २७ वर्षीय पत्रकार कर्ण विश्वकर्माको विषयमा अनुसन्धान भइरहेको भन्दै प्रहरीले परिवार र आफन्तलाई भेटघाटमा रोक लगाएको हो ।
विप्लव नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा पत्रकार विश्वकर्मा र तिलागुफा नपा— ६ का भरत शाहीलाई गिरफतार गरिए पनि प्रहरीले सार्वजिक अभद्र व्यवाहारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।
गिरफ्तार गरी हिरासतमा राखेका आफ्ना दाजुलाई भेटन नपाएको र जिल्ला प्रहरी कार्यालयको गेटबाटै फिर्ता गरिएको पत्रकार विश्वकर्माकी बहिनी कोपिला विश्वकर्माले आरोप लगाइन् । प्रहरीले भेटघाटमा बन्देज लगाएको उनको आरोप छ ।
गिरफ्तार गरेको २४ घण्टाभित्र अदलत समक्ष पेस गर्नु पर्ने भएपनि पत्रकार विश्वकर्मा र शाहीलाई प्रहरीले अदालत पुर्याएको छैन ।
गिरप्mतारीमा परेका पत्रकारलाई अनुसन्धान तथा सोधपुछ हुन बाँकी रहेकाले आफन्तले भेट्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताएका छन् ।
विप्लव नेकपाका समाचार सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको आरोपमा प्रहरीले रेडियोको कार्यकक्षबाटै पत्रकार विश्वकर्मालाई चैत ७ गते बिहान गिरफ्तार गरी हिरासतमा राखेको थियो । यस्तै प्रहरीले गिरफ्तार गरेका तिलागुफा नगरपालिका–४ का २९ वर्षीय भरत शाहीका आफन्तलाई पनि भेट्न दिएको छैन ।
विना कारण आस्थाका आधारमा पत्रकारलाई गिरफ्तार गरिएको प्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, कालिकोट जिल्ला शाखा र जिल्लाका सामुदायिक रेडियोहरुले समेत विज्ञप्तिमार्फत विरोध जनाएका छन् ।
महासंघ केन्द्रीय महासचिव रमेश विष्ट, जिल्ला अध्यक्ष तुलाराम पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई रेडियोको कार्यकक्षबाट पत्रकार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको जनाइएको छ ।
पत्रकार गिरफ्तारीको कालिकोटका समुदायिक रेडियोहरुले पनि विज्ञप्ति मार्फत विरोध जनाएका छन् । यस्तै पीडित विश्वकर्मा कार्यरत रेडियो नयाँ कर्णाली एफएमले विरोध जनाउँदै आफ्ना सबै प्रसारण कार्य बन्द गरेको छ ।