INSEC Online

📅 २०८३ असार १६

विद्यालय परिसर जलमग्न हुँदा पठनपाठन प्रभावित

जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित श्री जनता माध्यमिक विद्यालयमा वर्षाका कारण विद्यालय परिसर तथा कक्षाकोठाहरू जलमग्न भएपछि ०८३ असार १२ गतेदेखि पठनपाठन बन्द रहेको छ।

विद्यालय भवन जीर्ण भएको हुँदा कक्षाकोठामा पानी पस्ने समस्या रहेको र निकासको व्यवस्था नभएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले बताउनु भयो । प्रधानाध्यापक  यादवका अनुसार साना बालबालिकाहरू चिसोका कारण कक्षाकोठामा बस्दा विद्यार्थीहरूमा विभिन्न सरुवा रोग र महामारी फैलिने जोखिम समेत बढेको छ। उहाँले भन्नुभयो, “विद्यालयको अवस्था दयनीय छ। पानी परेपछि कक्षाकोठाभित्रै हिलो र पानी जम्ने गर्छ। यस्तो अवस्थामा बालबालिकालाई कहाँ राखेर पढाउने भन्ने चिन्ता ब्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधारको कमी र अव्यवस्थित ढल निकास नै समस्याको मुख्य कारण रहेको उल्लेख गर्दै पुरानो भवन भएकाले पानी सिधै कक्षाकोठाभित्र पस्ने गरेको प्रधानाध्यापक यादवले बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकाको भविष्यमाथि यसरी खेलबाड हुन दिनुहुँदैन। हामीले उपमहानगरपालिकासँग नयाँ भवन निर्माण र विद्यालय परिसर व्यवस्थित गर्न पटक–पटक माग गरेका छौँ।

विगत सात वर्षदेखि विद्यालयको समस्या समाधानका लागि आवाज उठाउँदै आएका स्थानीय युवा अभियन्ता प्रदीप मुखियाले हरेक वर्ष वर्षायाम सुरु हुनासाथ विद्यालय जलमग्न हुने समस्या दोहोरिने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस वर्ष पनि असार १२ गतेदेखि विद्यालय बन्द भएको छ। यसबाट बालबालिकाको शिक्षा पाउने अधिकार प्रत्यक्ष रूपमा प्रभावित भएको छ। सम्बन्धित निकायले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि दीर्घकालीन समाधान गर्न सकेको छैन। अब तत्काल पानी निकासको उचित व्यवस्था, नयाँ विद्यालय भवन निर्माण तथा सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो।

सन्तोष कुमार यादव

अन्य

भिडियो