तत्कालीन सशस्त्र द्वन्द्व (जनयुद्व) का क्रममा बुबा गुमाएका भेरी नगरपालिका–१३, कुदुका २७ वर्षीय ज्ञानु बस्नेत अहिले दीर्घरोग, आर्थिक अभाव र पारिवारिक सहाराको कमीका कारण कष्टकर जीवन बिताइरहनु भएको छ ।
ज्ञानु आमाको गर्भमा तीन महिनाका हुँदा उहाँका बुबा गोपालबहादुर बस्नेतको २०५६ असार १५ गते तत्कालीन राज्यपक्षबाट हत्या भयो । साविक जगतिपुर गाउँ विकास समिति–७ हाल भेरी नगरपालिका–१३ निवासी गोपालबहादुर परिवार धान्ने एकमात्र सदस्य हुनुहुन्थ्यो । उहाँ भारतमा ज्यालामजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएको थियो ।
गोपालबहादुरको मृत्यु भएपछि परिवारमा वृद्ध बुबा–आमा, पत्नी र जन्मिन बाँकी सन्तान मात्रै बाँकी रहे । छोरा गुमाएको सात महिनापछि नातिको जन्म हुँदा हजुरबा–हजुरआमाले नयाँ आशा देख्नुभएको थियो । उहाँहरूले कृषि गरेर ज्ञानुको पालनपोषण गर्नुभयो । तर ज्ञानु तीन वर्षको हुँदा प्यारालाइसिस (पक्षघात) भएपछि परिवारमाथि अर्को संकट थपियो । उहाँको उपचारका लागि परिवारले खेतीयोग्य जमिन बिक्री गर्नुपर्यो । आर्थिक अभावका बीच गाउँ–समाजको सहयोगमा उपचार सम्भव भएको परिवारको भनाइ छ । ०८० सालमा हजुरबुबाको र ०८२ साल माघमा हजुरआमाको मृत्यु भएपछि अहिले ज्ञानु र कान नसुन्ने उहाँकी आमा दुपर्ती बस्नेत मात्रै एकअर्काको सहारामा छन् ।
ज्ञानु तीन वर्षको उमेरदेखि निरन्तर औषधि सेवन गरिरहनु भएको छ । हालसम्म उपचारमा करिब ३५ देखि ४० लाख रुपियाँ खर्च भइसकेको उहाँको भनाइ छ ।
‘उपचारका लागि तीनवटा खेतीयोग्य जग्गा बेच्यौं । त्यसले पनि नपुगेपछि गाउँ–समाजको सहयोगबाट उपचार भयो,’ उहाँले भन्नुभयो, ‘अहिले पनि चिकित्सकको सल्लाहअनुसार नियमित औषधि खानुपर्छ र बेला–बेला स्वास्थ्य परीक्षण गराउन जानुपर्छ ।’
उहाँका अनुसार अहिले परिवारको आम्दानीको मुख्य स्रोत बाख्रा र लोकल कुखुरा मात्रै हुन् । घरको खेती पनि अरूले गरिदिने गरेका छन् । स्थानीय तथा प्रदेश सरकारले जोखिममा परेका नागरिकलाई आयआर्जनका कार्यक्रममार्फत सहयोग गरे सानो व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने उहाँको अपेक्षा छ । आफु लामो समय बिरामी भएकोले राम्रोसँग पढ्न पनि नपाएको ज्ञानुको गुनासो छ ।
दुपर्ती बस्नेतले पति भारतबाट घर फर्किएको केही समयपछि घरमै सुतिरहेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर हत्या गरेको बताउनु भयो । त्यसपछि परिवारको सबै जिम्मेवारी आफूमाथि आएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार छोराको उपचारका लागि खेतीयोग्य जमिन बेच्नुपरेको छ । आफू कान नसुन्ने समस्याबाट पीडित र छोरा दीर्घरोगी भएकाले दैनिक जीवन नै कठिन बनेको उहाँले बताउनु भयो ।
उहाँले सरकारले द्वन्द्वपीडितका रूपमा १० लाख रुपियाँ राहत उपलब्ध गराए पनि त्यसबाहेक आवश्यक सहयोग र पुनस्र्थापना कार्यक्रम नपाएको गुनासो गर्नुभयो ।
‘पति गुमाएँ, पछि छोरा जन्मिएपछि केही आशा पलाएको थियो । तर छोरा पनि सानैदेखि बिरामी परे,’उहाँले भन्नुभयो, ‘अहिले हामी दुवै आमा–छोरा निकै कठिन अवस्थामा बाँचिरहेका छौं ।’
आर्थिक अवस्था कमजोर, स्वास्थ्य समस्या र आयआर्जनको भरपर्दो स्रोत नभएकोले आफूहरूलाई सरकारले विशेष संरक्षण र जीविकोपार्जनका कार्यक्रम उपलब्ध गराइदिनुपर्ने उहाँहरूको माग छ ।