सरकारबाट बजेट उपलब्ध नहुँदा तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रम दाताको भरमा सञ्चालन भईरहेको छ ।
देवघाट क्षेत्र विकास समिति मातहतको उक्त बृद्धाश्रम सञ्चालनको लागि गत वर्षसम्म सरकारले बजेट उपलब्ध गराएको भएपनि चालु आर्थिक वर्षमा बजेट उपलब्ध नगराउँदा बृद्धाश्रम सञ्चालन गर्न कठिनाई भइरहेको बृद्धाश्रमका अध्यक्ष एवम् देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरले बताए ।
सरकारबाट बजेट प्राप्त नहुँदा बृद्धाश्रम सञ्चालन गर्न दाताहरूलाई गुहार्नु परेको अध्यक्ष घिमिरेले बताए । बृद्धाश्रममा १२ पुरूष सहित ३० जना बृद्धबृद्धा आश्रित छन् ।
चालु आर्थिक वर्षमा बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न, लत्ताकपडा, फलफुल सबै दाताहरूले नै उपलब्ध गराइरहेको आश्रमले जनाएको छ ।
अधिकांश दाताहरूले जन्मदिन, पितृहरूको पुण्यतिथी, वैवाहिक वार्षिकोत्सव या अन्य कुनै दिनका अवसर पारेर बृद्धबृद्धालाई खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइरहेको उनले बताए ।
देवघाट क्षेत्र विकास समिति संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत रहेपनि बृद्धाश्रम भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत सञ्चालित छ ।
गत आर्थिक वर्षसम्म मन्त्रालयले बृद्धाश्रमको लागि वार्षिक ५ लाख रुपियाँ उपलब्ध गराइरहेको थियो । बृद्धाश्रममा आश्रित बृद्धबृद्धाको खानपित तथा अन्य कार्यका लागि बजेट विनियोजन नगरेपनि मन्त्रालयले आश्रममा कार्यरत भान्से र सहयोगी सहितको कर्मचारीको लागि मासिक पारिश्रामिक भने विनियोजन गरिरहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
कुनै दाताहरूले बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई खाना खुवाउन चाहेमा अग्रिम नाम दर्ता गराउनु पर्ने क्षेत्र विकास समितिका लेखापाल ढकालराज पौडेलले बताए ।
३० जना बृद्धबृद्धाका लागि दुई छाक दाल, भात, तरकारी सहितको सादा खाना खुवाउन चाहेमा ५ हजार र एक छाकको लागि ३ हजार रुपियाँ तोकिएको लेखापाल पौडेलले जानकारी दिए ।
अधिकांश दाताले समितिले तोकेको रकम उपलब्ध गराउँछन् भने केहीले आफैँले खाना र फलफुल ल्याएर उपलब्ध गराउने गरेको पौडेलले बताए ।
सरकारले चालु आर्थिक वर्षमा बजेट नदिँदा खर्च विहीन भएको समितिले यस आर्थिक वर्षको पुरै ३ सय ६५ दिनको लागि नै दाता खोज्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक घिमिरेले बताए ।
यसको लागि विभिन्न व्यवसायी र समाजसेवीहरूलाई अनुरोध गरिएको उनले जानकारी दिए । हालसम्म देवघाट सहित चितवन भरतपुर, नवलपरासी गैँडाकोट, मुग्लिन र दमौलीका समाजसेवीहरूले बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न उपलब्ध गराउँदै आएको घिमिरेको भनाई छ ।
बृद्धाश्रमको भवन निर्माण र मर्मतका लागि देवघाट गाउँपालिकाले ५ लाख रुपियाँ उपलब्ध गराएको र समितिको आन्तरिक कोषबाट ५ लाख रुपियाँ विनियोजन गरी समितिको भवनको तला थप गरिएको भन्दै निर्देशक घिमिरेले आगामी आर्थिक वर्षदेखि आश्रममा बृद्धबृद्धाको सङ्ख्या बढाएर ५० पुर्याउने जानकारी दिए ।
बृद्धाश्रममा आश्रित सङ्ख्या थपिएसँगै व्यवस्थापनको लागि थप चुनौती थपिने भन्दै उनले सरकारले यसलाई विचार गरेर बृद्धाश्रमको लागि बजेट विनियोजन गर्न माग गरे ।