INSEC Online

📅 २०८३ असार १३

आगलागीबाट मटेहियामा चार घर नष्ट, लाखौँको क्षति हुँदा स्थानीय प्रभावित

बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया गाउँमा भीषण आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएका छन्। असार ११ गते राति २ बजे अचानक सुरु भएको आगलागीबाट लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ भने स्थानीय पीडित परिवार समस्यामा परेका छन्।

मटेहिया गाउँका स्थानीय मयाराम तेलीको घरबाट अचानक सल्केको आगो नियन्त्रण बाहिर जाँदा चारवटा कच्ची घर, भान्सा, अन्नपात, तीन थान सिलाई कटाई मेसिन र दुई थान सोलार जलेर पूर्ण रूपमा नष्ट भएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइरालाका अनुसार आगलागीबाट लाखौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरी निरीक्षक कोइरालाले आगलागीबाट मटेहिया गाउँका मयाराम तेली, बैशीधर तेली र हरिश यादवका घरहरू जोगाउन नसकिए पनि समयमै उद्धार गरिएकाले मानवीय क्षति भने हुन नपाएको जानकारी दिनुभयो। आगो लाग्नासाथ स्थानीय र प्रहरीको सक्रियतामा मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको थियो।

आगलागीका कारण घरमा रहेका पुस्तक, कापी र विद्यालय पोसाकसमेत जलेर नष्ट भएपछि स्थानीय विद्यार्थीहरू संकटमा परेका छन्। महेन्द्र माध्यमिक विद्यालय मटेहियामा अध्ययनरत ६ जना विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक सामग्री नष्ट हुँदा उनीहरूको पढाइ रोकिने अवस्था आएको नरैनापुर गाउँपालिका–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले बताउनुभयो।

घटना लगत्तै नरैनापुर गाउँपालिकाले पीडित परिवारका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न तथा सामान्य खानपिनका सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ। यसै गरी, गाउँपालिकाको विपद् शाखा प्रमुखसहितको टोलीले घटनास्थलको अनुगमन गरी पीडितहरूलाई तत्कालीन राहत उपलब्ध गराएको छ भने थप दीर्घकालीन राहत तथा सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरिसकिएको गाउँपालिकाले जनाएको छ।

ध्रुबराज शर्मा

अन्य

भिडियो