सिद्धिचरण नगरपालिका–६ को जन्तरखानी स्वास्थ्य चौकीमा औषधि र उपचारमा प्रयोग हुने सर्जिकल सामग्री अभाव भएको छ । निशुल्क पाइने औषधि र सामान्य उपचार उपकरण समेत नभएपछि उपचार प्रभावित भएको छ ।
सिटामोल, जुकाको औषधि लगायतका साधारण औषधि समेत अभाव भए पनि नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध नगराएको स्वास्थ्य चौकी प्रमुख अविन गुरूङले आरोप लगाए ।
उनले औषधिलगायत अन्य सञ्चालन खर्च समेत नपाएको गुनासो गरे । नगरपालिकाको स्वास्थ्य शाखाले औषधि, उपचार गर्ने उपकरण, कार्यालय व्यवस्थापन खर्च नभएकाले सेवा प्रवाह बन्द हुने अवस्थामा पुगेको उनले बताए ।
वडा नं. ६ का वडा सदस्य सन्तबहादुर मगरले नगरपालिकाले ध्यान नदिँदा गाउँका नागरिक उपचारबाट वञ्चित भएको आरोप लगाए । उनले औषधि तत्काल स्वास्थ्य संस्थामा दिनु पर्ने माग गरे ।
औषधि तथा सर्जिकल सामग्री नदिएको विषयमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अइतबहादुर राईले भने सर्जिकल सामग्री खरिद नभएको तर औषधि माग गर्न आए दिन सकिने बताए ।
यसैबिच सुनकोशी गाउँपालिका–७ च्यानमका अहेव मोहन बानियाले सरकारले बिरामीलाई निशुल्क वितरण गर्ने औषधि बेचेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयले उनीमाथि कारवाही गर्न मागसमेत गरेका छन् । अहेवले उपचारमा आएका बिरामीमाथि दुव्र्यवहार गर्ने र निःशुल्क सरकारी औषधि बेच्ने गरेको पाइएको स्थानीय टिका कटवालले आरोप लगाए ।
उनले भने–‘धेरै पटक उनीमाथि यस्ता आरोप लागेपनि उनी सच्चिएनन्, सबै स्थानीय उनी विरूद्धमा छन् ।’ निशुल्क औषधि पैसा लिएर बेच्ने, उपचारमा आएका बिरामीलाई नदिने गरेको कटवालको आरोप छ ।
औषधि बेचेको भेटेपछि १ सय ६८ जना स्थानीय नागरिकले बानियामाथि कारवाहीको माग गर्दै वडा नं. ७ को वडा कार्यालयमा फागुन २९ गते निवदेन दर्ता गराएका छन् । उनीहरूले बानियमाथि छानविन र कारवाहीको माग गरेका छन् ।
अहेव बानियाले सेवा लिन जाने सर्वासाधारणलाई गालीगलौज गर्ने गरेको, सरकारी स्तरबाट निशुल्क रूपमा पाइने औषधिहरू बेचबिखन गरेको निवेदनमा उल्लेख गरिएको छ ।
सर्वसाधारणलाई सुलभ सेवा भन्दा गाली गलैज गर्ने र निशुल्क औषधि बेच्ने गरेको स्थानीय सञ्जिव खत्रीले बताए ।
अहेव बानियाँले भने स्थानीयले झुठो आरोप लगाएको बताए । उनले कार्यलय प्रमुख सुबोध यादवसँग आफ्नो सामान्य विवाद भएकाले उनैले आपूm विरूद्ध स्थानीय उतारेको आरोप लगाए ।
उनले भने–‘केही समय अघिसम्म आफ्नो कोठाबाट औषधि बेचेको भएपनि अहिले बेच्न छाडेको छु । निजी औषधि बेचेको थिएँ ।’
अहेव विरूद्धको उजुरीबारे वडा अध्यक्ष श्यामबहादुर कटवालले स्वास्थ्य चौकीका प्रमुख, अहेव र स्थानीयका बिच छलफल गर्ने बताएका छन् ।
उनले सर्वपक्षीय छलफलपछि अहेव दोषी पाइए कारबाही हुने जानकारी गराए । स्वास्थ्य चौकी प्रमुख सुबोध यादबले अहेव बानियाँको कार्यशैली ठिक नभएको बताए ।
उनले अहेब बानियाले कोठाबाट औषधि बेच्ने गरेको पाइएपछि स्थानीयले उनीमाथि कारवाही गर्न माग गरेका बताए ।