अभिभावकविहीन १३ जना बालबालिकाको जीवनमा बगनासकाली गाउँपालिका अभिभावक बनेर उभिएको छ। गाउँपालिकाले उनीहरूको अभिभावकत्व ग्रहण गर्दै मासिक १ हजार रुपियाँका दरले शैक्षिक प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ।
आर्थिक अभाव वा पारिवारिक समस्याका कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकालाई विद्यालयमै टिकाइराख्ने तथा उनीहरूको भविष्य सुरक्षित गर्ने उद्देश्यले गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो।
उहाँका अनुसार अभिभावकविहीन बालबालिकालाई राज्य र समाजले साथ दिएको अनुभूति गराउने तथा बाल अधिकार संरक्षण र समग्र विकासलाई प्राथमिकतामा राख्ने गाउँपालिकाको बालमैत्री अभियानअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।
बालबालिकाको अधिकार सुनिश्चित गर्ने सवालमा बगनासकाली गाउँपालिका प्रदेशकै अग्रणी स्थानीय तहमध्ये पर्छ। बाल अधिकार संरक्षण, बाल सहभागिता, शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा तथा बालमैत्री वातावरण निर्माणका क्षेत्रमा निरन्तर काम गरेकै कारण गाउँपालिका २०७७ चैत १४ गते लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको थियो।
बालमैत्री स्थानीय शासन अवधारणाले बालबालिकालाई विकासको केन्द्रमा राख्छ। स्थानीय नीति, योजना, बजेट तथा कार्यक्रम निर्माण गर्दा बालबालिकाको हितलाई प्राथमिकतामा राख्ने प्रणालीलाई बालमैत्री स्थानीय शासन भनिन्छ। यसका लागि शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र सुरक्षित वातावरणसँग सम्बन्धित ५१ वटा सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको बगनासकाली गाउँपालिकाका बालमैत्री फोकल पर्सन नारायण तिमिल्सिनाले जानकारी दिनुभयो।
तिमिल्सिनाका अनुसार बाल अधिकार संरक्षण, जन्मदर्ता, विद्यालय भर्ना, बालविवाह न्यूनीकरण, बालश्रम नियन्त्रण, स्वास्थ्य सेवामा पहुँच, पोषण सुधार, बाल सहभागिता तथा क्षमता विकासलगायतका क्षेत्रमा गाउँपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
बालमैत्री अभियान सुरु हुनुअघि गाउँपालिकाका केही क्षेत्रमा बाल अधिकारसम्बन्धी चेतना अपेक्षाकृत कम थियो। विद्यालय बाहिर रहेका बालबालिका, समयमै जन्मदर्ता नहुने अवस्था, बालविवाह तथा बालश्रमजस्ता समस्या चुनौतीका रूपमा रहेका थिए। तर बालमैत्री स्थानीय शासनलाई अभियानकै रूपमा सञ्चालन गरिएपछि समुदायको सोचमा क्रमिक परिवर्तन आउन थालेको तिमिल्सिनाले बताउनुभयो।
हाल अधिकांश बालबालिका विद्यालयको पहुँचमा छन् भने जन्मदर्ता दरमा उल्लेखनीय वृद्धि भएको छ। बालविवाह तथा बालश्रमविरुद्ध समुदाय स्वयं सचेत बन्दै गएको छ। विद्यालयहरूमा बालमैत्री सिकाइ वातावरण निर्माण भएको छ भने बाल क्लबमार्फत बालबालिकाले आफ्ना विचार व्यक्त गर्ने तथा निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गरेका छन्।
बालबालिकाको स्वास्थ्य र पोषणको अवस्थामा पनि सुधार देखिएको छ। खोप, पोषण तथा सरसफाइसम्बन्धी कार्यक्रमहरूले बाल स्वास्थ्य सुधारमा योगदान पुर्याएका छन्। सुरक्षित खानेपानी, शौचालय, खेलमैदान तथा बालमैत्री संरचनाको विस्तारले बालबालिकाको दैनिकी थप सहज बनेको तिमिल्सिनाले बताउनुभयो।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बालबालिका गाउँपालिकाको वर्तमान मात्र नभई भविष्यका आधारसमेत भएकाले शिक्षा, स्वास्थ्य, सुरक्षा र अवसरमा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम यही प्रतिबद्धताको एउटा उदाहरण हो।