INSEC Online

बागमती प्रदेशका १ हजार अति विपन्न परिवारलाई घर

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि प्रस्तुत गरेको ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपियाँको बजेटमा विपन्न नागरिकको आवास, पूर्वाधार विकास तथा रोजगारी प्रवर्धनलाई प्राथमिकतामा राखेको छ । प्रदेशसभामा ०८३ असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशका १ हजार अति विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिने घोषणा गर्नुभयो । उक्त कार्यक्रमका लागि २० करोड रुपियाँ विनियोजन गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम तथा व्यवसाय सञ्चालन गर्न चाहने युवालाई प्रोत्साहन गर्न कर्जाको ब्याजमा अनुदान दिने कार्यक्रम ल्याइएको छ । यसका लागि प्रदेश सरकारले २० करोड रुपियाँ बजेट व्यवस्था गरेको छ । त्यसैगरी लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि महिला उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने र लैङ्गिक हिंसापीडितका लागि पुर्नस्थापना केन्द्र, सुरक्षित आवास तथा मनोसामाजिक परार्मश सेवा विस्तार गर्ने, महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध दु्रत उद्दार तथा कानुनी सहजीकरण सेवा उपलब्ध गराउन बजेटको प्रबन्ध गरिएको मन्त्री तामाङले जानकारी दिनुभयो ।

दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण गर्दै सम्मानजनक जीवनयापन र आत्मनिर्भरताको आधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरिएको,  एकल महिलाका लागि उद्यमशीलता विकास गरी स्वरोजगार मार्फत गरिबी निवारण गर्न आवश्यक बजेट व्यवस्था गरिएको साथै  ज्येष्ठ नागरिकहरूको संरक्षण र सम्मानका लागि ज्येष्ठ नागरिक हेरचाह केन्द्रहरूलाई प्रोत्साहन तथा सहयोग गर्ने, ज्येष्ठ नागरिकहरूको अनुभव ज्ञान र सीप हस्तान्तरणका लागि वस्तुस्थितिमा आधारित संवाद कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट प्रबन्ध गरेको मन्त्री तामाङले जानकारी दिनुभयो ।

बालबालिकाको अधिकार संरक्षण, बालविवाह अन्त्य र जोखिममा रहेका बालबालिकाको संरक्षण तथा पुनर्स्थापनाका लागि प्रोत्साहन गर्न, सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश, आपतकालीन सहायता, सशक्तीकरण तथा पुनर्स्थापना कार्यक्रम संघ, स्थानीय तह र गैरसरकारी संस्थाहरूको समन्वय र सहकार्यमा क्रमशः कार्यान्वयन गर्दै, जोखिम तथा सीमान्तकृत समुदायको मर्यादित जीवनका लागि सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूका लागि आवासीय विद्यालय सञ्चालनका लागि आवश्यक प्रबन्ध गरेको मन्त्री तामाङले जानकारी दिनुभयो ।

मञ्जिता मैनाली

अन्य

भिडियो