अपाङ्गता भएका एकै घरका दुई दाजुभाइलाई जिल्ला प्रशासन कार्यालय, खोटाङले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ लामीडाँडास्थित मानबहादुर खत्रीको घरमै पुगेर उहाँका अपाङ्गता भएका दुई छोरा २६ वर्षीय गणेश खत्री र २२ वर्षीय थीरबहादुर खत्रीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनु भयो ।
शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने उनीहरूलाई जेठ २७ गते घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताउनु भयो ।
नागरिकता प्राप्तिसँगै राज्यबाट प्राप्त हुने विभिन्न सेवा–सुविधा तथा अधिकारमा दाजुभाइको पहुँच सुनिश्चित भएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनु भयो ।
नागरिकता वितरणका लागि आवश्यक समन्वय तथा सहजीकरण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लिला चौहानले गरेपछि दाजुभाइले घरमै नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले राज्यका आधारभूत सेवाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विशेष परिस्थिति भएका नागरिकसम्म सेवा पुर्याउने कार्यलाई निरन्तरता दिएको बताउनु भयो ।
नेपाली नागरिकता नभएका कारण राज्यले प्रदान गरेको सामाजिक सुरक्षाबाट वञ्चित भएका दाजुभाइले अब भने अपाङ्गता भत्ता प्राप्त गर्ने भएका छन् ।