जिल्ला कारागार, खाँदवारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैद सजायको फैसला भएको छ ।
जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको ०८३ जेठ २७ गतेको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१(१) बमोजिम कसुरमा जन्मकैद सजायको फैसलाको भएको हो । त्यसैगरी सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार रुपियाँ मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको अदालतका श्रेस्तेदार न्यौपानेले बताउनु भयो ।
कारागारमा ०८० साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरूमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई जना कैदीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।
दुई जना कैदीको हत्या प्रकरणका सात जना प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला भएको जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार उज्वल न्यौपानेले बताउनु भयो ।
कैदीको कुटपिटपछि हत्या घटनाका आरोपित सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेहृथुम कारागारमा पुर्पक्षका लागि पठाइएको थियो ।
कैदी हत्या घटनामा असइ लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद फैसला भएको छ । त्यस्तैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र ईन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार उज्वल न्यौपानले बताउनुभयो ।
कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असइसहित सात जना प्रहरी र आठ जना कैदीबन्दी लाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेहृथुम पठाउन आदेश भएको थियो ।
घटनाको इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८० साउन २६ गतेदेखि साउन २८ गतेसम्म स्थलगत अनुगमन गरी दुई जना कैदीको कुटपिटबाट मृत्यु भएको प्रतिवेदन साउन ३२ गते विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।