INSEC Online

📅 २०८३ जेष्ठ २१

इँटा उद्योगमा काम गर्ने बाल मजदुर शिक्षाबाट वञ्चित

बढैयाताल गाउँपालिका–५ खैसास्थित एमआरजे इँटा उद्योगमा काम गर्ने बालमजदुरहरू शिक्षाबाट वञ्चित रहेका छन् ।

विद्यालय जाने उमेरका दर्जनौँ बालबालिकाहरू इँटा उद्योगमा ठुला मानिससँगै इँटा बनाउने कार्यका बेस्ट भएको देखिन्छन् ।

ती विद्यालयमा पढ्न नगई बालबालिकाहरू इँटा उद्योगमा अभिभावकसँग जोखिमपूर्ण काम गर्ने उनीहरूको बाध्यता हो ।

ती परिवारको साँझ बिहान हातमुख जोड्ने माध्यम नै इटा उद्योगमा का काम गरी पैसा कमाउनु हो । जुन जहिले पनि उनीहरूको पहिलो प्राथमिकता पर्दछ ।

विद्यालय गई शिक्षा आर्जन गर्नु उनीहरूको लागि परको विषय हो । पढ्न जान मन भएपनि घरको आर्थिक समस्याका कारण बुबाआमासँगै काम गर्न घरबाट टाढा इँटा उद्योगमा आउन पर्ने बाध्यताले विद्यालय जाने रहरमै सिमीत भएको बालमजदुर १३ वर्षीय रामलखन पन्थलीले गुनासो गरे ।

इँटा उद्योगमा ११ परिवारका ७० जनाले काम गर्दै आएका छन् । एक परिवारले १८ घण्टा खटेर २ हजार जति कमाउँछन् ।

यसका लागि उनीहरू बिहान तीन बजे नै उठेर माटोसँग पौँठेजोरी खेल्न पर्छ । राति १० बजेसम्म इँटा बनाउने कार्यमा व्यस्त रहनुपर्छ । अभिभावकसँग उनीहरूको बालबालिका पनि खटिनु पर्छ ।

ती बालबालिकाहरू इटा बनाउने काममा आफ्ना शारीरिक क्षमता भन्दा बढी लोडमा काम गर्ने गरेको एमआरजे इँटा उद्योगका कर्मचारी ५० वर्षीय छब्वन खाँले बताए ।

इँटा बनाउने कार्यमा ठुला मानिस भन्दा छिटो गर्ने गर्दछन् । तर, उनीहरूको खटाई एकदमै दयनीय हुने गरेको पनि छब्वन खाँले बताए ।

एक मजदुर ३१ वर्षीय नरेन्द पन्थलीले भने–‘बस्नलाई घरबास बाहेक केही छैन । काम नगरी खान लाउन समस्या छ । काम गर्न घर छोड्नु पर्छ । पढ्नलाई छोराछोरीलाई मात्रै घरमा छोड्न सकिँदैन ।’

उनीहरू धेरै जसो भारतको लख्खिनपुरबाट आएको आएका हुन् । हरेक वर्ष परिवारसहित नेपाल आएर ६ महिना इँटा उद्योगमा काम गरी कमाएको पैसाले वर्ष भरीको गुजारा चलाउने उनीहरूको बाध्यता हो ।

नयाँ संविधान र कानुनले इटा उद्योगमा बालबालिकालाई काम गराउनु बाल अधिकारविरूद्ध र जोखिमपूर्ण मानेको छ ।

साथै विद्यालय जाने उमेरका बालबालिकाहरू अनिवार्य रूपमा शिक्षा आर्जन गर्न विद्यालय पठाउनै पर्ने नीति पनि ल्याएको छ । तर, ती बालबालिकाहरू जोखिमपूर्ण काम गर्न पर्नुको साथै शिक्षाबाट पनि वञ्चित रहेका छन् ।

बढैयाताल गाउँपालिकाका कार्यकारी अधिकृत लालबहादुर योगीले बढैयाताल गाउँपालिका क्षेत्रमा विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालय भित्र ल्याउन इँटा उद्योगमा काम गर्ने बाल मजदुरतर्फ ध्यान नगएको तर त्यसतर्फ तत्कालै छलफल चलाई अगाडि बढाउने बताए ।

अन्य

भिडियो