बर्दिवास नगरपालिका–१२ विजलपुराकी २५ वर्षीया रिंकु महतोको हत्या गरेको आरोपमा प्रहरीले पति २५ वर्षीय शशि सिंहलाई ०८३ जेठ २९ गते गिरफ्तार गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा ससुरा ५० वर्षीय रामबाबु सिंह, सासु ४८ वर्षीया ललितादेवी सिंह, नन्द २० वर्षीया मनिषा सिंह र ज्वाई २७ वर्षीय देवनारायण महतोविरुद्ध माइतीपक्षले जेठ ३० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
जेठ २९ गते साँझ ८ बजे घरमा झुण्डिएको अवस्थामा शव फेला परेपछि हत्या भएको भन्दै मृतककको माइती पक्षले घरमा तोडफोड गरेका थिए ।
गौशाला नगरपालिका–११ कान्तिबजार माइती भएकी रिकुको मृत्युको खबर पाएलगत्तै उनका आफन्त तथा माइती पक्ष ठूलो संख्यामा मृतकको घर पुगेका थिए । आक्रोशित बनेका माइतीपक्षले घरमा तोडफोड गर्नुको साथै एक कार, एक मोटरसाइकल र एक स्कुटीमा समेत आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय बर्दिवास र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प पशुपतिनगरबाट बाक्लो संख्या प्रहरी घटनास्थल पुगेको थिए । महोत्तरी क्षेन नं १ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार महतो, वर्दिवास नगरपालिका मेयर प्रहलाद कुमार क्षेत्री लगायतका जनप्रतिनिधिले आक्रोशित समूहसँग घटनाको छानबीन गरी दोषिलाई कानुन बमोजिम कारबाही गरिने आश्वासन दिएपछि स्थिति नियन्त्रणमा सामान्य बन्यो । मृतकको पति शशि लामो समयदेखि थाइल्याण्ड बसिरहेको र सम्बन्धविच्छेदको लागि लगातार दबाब दिइरहेको र लामो समयदेखि रिंकुलाई यातना समेत दिइएको माइतीपक्षले आरोप लगाएका छन् ।
शवको पोष्टमार्टम जेठ ३० गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।