जिल्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको छ । पर्याप्त औषधी नभएपछि स्वास्थ्य संस्था खोलेर बस्नुको विकल्प नभएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश सापकोटाले बताए । औषधि परिपूर्तिको लागि गाउँपालिकामा माग गरेको भएपनि अहिलेसम्म आइनसकेको सापकोटाको भनाइ छ ।
सो गाउँपालिकामा रहेका चारओटा स्वास्थ्यचौकीमा औषधी अभाव भएको दुई महिना बितिसकेको सापकोटाले बताए । राज्यले तोकेका ३५ प्रकारका निःशुल्क औषधि खरिदका लागि स्थानीय तहले आवश्यक रकम उपलब्ध गराउन नसक्दा जुम्लाका स्वास्थ्य संस्थामा औषधी अभाव भएको सापकोटाले बताए ।
स्वास्थ्य संस्थामा औषधी नभएपछि सेवा लिन आउने बिरामीलाई निजी मेडिकलमा पठाउने गरिएको स्वास्थकर्मी बताउँछन् । स्वास्थ्य संस्थामा सबैखाले अत्यावश्यक औषधि को अभाव रहेको छ । जिल्लाका स्वास्थ्य संस्थामा बढीजसो रुघाखोकी, दम, झाडापखाला बिरामी र विभिन्न समस्याका बालबालिका उपचारको लागि आउने गरेका छन् । औषधीको अभावसँगै गाउँपलिकाका स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी देखि स्वास्थ्यकर्मीहरूले तलब नपाउँदा समस्या भएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज सापकोटाले बताए ।
पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोरा भने लगातारको वर्षात्का कारण गाउँपालिकाको लागि खरिद गरिएका औषधी उर्थुचौतारामा थन्किएको बताउँछन् । वर्षात्ले गर्दा उर्थु देखि डिल्लीचौर सडक खण्ड अवरूद्ध भएकोले ढुवानी हुन नसक्दा औषधी अभाव भएको र अबको केही दिनमै औषधी सहज रूपमा औषधी पाईने बोहराले बताए । स्वास्थ्यकर्मीको तलब रकम फुकुवा नआएकोले समस्या भएको र सो समाधानका विषयमा पहल भइरहेको उनले बताए ।