INSEC Online

📅 २०८३ जेष्ठ २५

६२ वर्षसम्म नागरिकता नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

मुगु ०८३ जेठ २५ गते । मुगुम कार्मारोङ गाउँपालिका–८, माग्री गाउँकी ६२ वर्षीया कुन्जुम पाल्पु लामा ६ दशकदेखि ‘अनागरिक’ भएर जीवन बिताउन बाध्य हुनुहुन्छ । राज्यले कुनै पनि नागरिक सेवा–सुविधाबाट बञ्चित नहुने नीति दोहो¥याइरहे पनि कुन्जुमको वास्तविकता भने त्यसको ठिक विपरित छ । नागरिकता अभावकै कारण उहाँ आधारभूत अधिकार र सरकारी सेवा–सुविधाबाट टाढा रहँदै आउनुभएको छ । शारीरिक रूपमा अशक्त कुन्जुमको दैनिकी अत्यन्त कष्टकर छ ।

उहाँको सहाराका रूपमा रहेका दाइ यांगेप लामा स्वयं पनि पूर्ण रूपमा सक्षम हुनुहुन्न । उहाँ पनि शारीरिक रूपमा अशक्त हुनुहुन्छ । दुवै जना एकअर्काको भरमा जीवन धानिरहेका छन् । ‘बहिनी शारीरिक र मानसिक रूपमा अशक्त छिन् । म आफैँ पनि पूर्ण रूपमा सक्षम छैन,’ यांगेपले भन्नुभयो, ‘कुन्जुमको अहिलेसम्म नागरिकता बन्न सकेको छैन ।’ नागरिकता नबनेकै कारण कुन्जुमले अपांगता परिचयपत्र बनाउन सक्नुभएको छैन । वृद्धभत्ता, अपांगता भत्ता, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा लगायत राज्यले उपलब्ध गराउने आधारभूत सेवाबाट उहाँ बञ्चित हुनुहुन्छ ।

आमा एउटै भएपनि बुवा फरक भएकोले कुन्जुमका बुबाको नागरिकता सम्बन्धी कुनै अभिलेख फेला परेको छैन । यही कारण उहाँको नागरिकता प्रक्रिया थप जटिल बनेको छ । आवश्यक कागजात अभाव, विकट भौगोलिक विकटता र प्रशासनिक पहुँचको अभाव मुख्य बाधक बनेको वडा नम्बर ८ का वडाअध्यक्ष पेमा टोन्डुल लामाले बताउनु भयो । वडा कार्यालयले कुन्जुमको नागरिकता र अपाङ्गता परिचयपत्र बनाउन आवश्यक पहल गर्दै आएपनि पुराना अभिलेख नभएका कारण समस्या भएको लामाले बताउनु भयो ।

नागरिकता व्यक्तिको पहिचानसँगै व्यक्तिगत अधिकार प्राप्त गर्ने आधार भएपनि कुन्जुमले जीवनका ६ दशक पार गर्दा पनि त्यो अधिकार पाउन सक्नुभएको छैन । नागरिकता नबनेकै कारण उहाँले सामाजिक सुरक्षा भत्ता पाउन सक्नुभएको छैन । नेपालको संविधानले प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर, दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिब, अशक्त तथा असहाय नागरिक अझै पनि ती अधिकारबाट वञ्चित भएका छ्न ।

प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले आवश्यक कागजात र प्रक्रियाका आधारमा नागरिकता दिन सकिने बताउनु भयो । ‘सम्बन्धित व्यक्तिको अवस्था संवेदनशील भएकाले प्रशासनले आवश्यक सहजीकरण गर्नेछ,’उहाँले भन्नुभयो, ‘वडाबाट आवश्यक सिफारिस र प्रमाण जुटेपछि कानुन अनुसार नागरिकता उपलब्ध गराउने विषयमा प्रशासन सकारात्मक छ ।’

कुन्जुम र उहाँका दाइ यांगेप लामाको आर्थिक अवस्था पनि अत्यन्त कमजोर रहेकोले दैनिक खान–लाउनको समेत समस्या भएको स्थानीयवासीले बताएका छन् ।

नन्दबहादुर रोकाया

अन्य

भिडियो