INSEC Online

📅 २०८३ जेष्ठ २३

अपाङ्गता भएका बालकमाथि बाबुद्वारा क्रुर व्यवहार, इन्सेकको पहलमा उजुरी दर्ता

बहुअपाङ्गता भएका सात बर्षीय बालकामाथि क्रुर व्यवहार गर्ने बाबुविरुद्ध इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्ता गरिएको छ ।

उजुरी दर्तासँगै आरोपितलाई प्रहरीले अनुसन्धानका लागि ०८३ जेठ २१ गते गिरफ्तार गरेको छ ।

विराटनगर महानगरपालिका १४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीका ४० वर्षीय दिनेश रामले अपाङ्गता भएका सात वर्षीय छोरामाथि क्रुर व्यवहार गर्दै आएका थिए ।

आरोपित बाबुलाई गिरफ्तार गरेपछि बालकको उद्दार गरी कोशी अस्पतलामा उपचारका लागि भर्ना गरिएको छ ।

सात वर्षीय बालक जन्मिँदै आँखा नदेख्ने, कान नसुन्ने र हिँडडुल समेत गर्न नसक्ने  अवस्थाका छन् । शारीरिक रूपमा असक्त अबोध छोरालाई बाबु दिनेश रामले क्रुर व्यवहार गर्दै आएका थिए । पीडित बालककी आमाले राजीखुसी अर्कोसँग विवाह गरी गएको र बाबु कुलतमा लागेकाले नातीलाई दिनहुँ जसो कुटपिट गर्ने गरेको बालककी हजुरआमा देवी रामले बताउनु भयो ।

पीडित बाकलका बाबु दिनेशले लागुपदार्थ सेवन गर्ने  र छोरालाई कुटपिट गर्नुका साथै  शरीरका विभिन्न भागमा टोकिदिने जस्ता अमानवीय व्यवहार गर्दै आएका थिए ।

दिनभर ज्याला मजदुरी गर्ने र बेलुका लागुपदार्थ सेवन गरी घर फर्किएपछि छोरामाथि क्रुर व्यवहार गर्ने घटनाका विषयमा इन्सेकले सूचना पाएपछि ०८३ जेठ २२ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, रानीमा उजुरी दर्ता भएको हो ।

इन्सेकसहित राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कोशी प्रदेश व्यवस्थापक सरोज नेपालीको संयुक्त पहलमा बाबुविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले बताउनु भयो ।

आरोपितले छोरालाई निर्घात कुटपिट गर्नुका साथै छाती लगायत शरीरका विभिन्न भागमा दाँतले टोकेर गम्भीर घाइते बनाएको अपांग महासंघका प्रदेश व्यवस्थापक सरोज नेपालीले बताउनु भयो ।

ंकोशी अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि पीडित बालकलाई पोषणका लागि अस्पतालकै न्यूट्रिसन (पोषण) विभागमा भर्ना गरिएको छ ।

विनोद सुवेदी  

अन्य

भिडियो