INSEC Online

📅 २०८३ जेष्ठ २१

रेबिजविरुद्धको खोप अभाव हुँदा बिरामी मारमा

बझाङ जिल्ला अस्पतालमा विगत लामो समयदेखि निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप (एआरभी) अभाव हुँदा स्थानीय बिरामीहरु मारमा पर्ने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीबाट खोप आपूर्ति नभएपछि अस्पतालले सेवा दिन समस्या भएको हो ।

जिल्ला अस्पताल, बझाङका प्रमुख डा. सन्दिप ओखेडाका अनुसार प्रदेशस्तरबाटै खोप प्राप्त नभएकाले अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालबाट निःशुल्क एआरभी भ्याक्सिन वितरण गर्ने कार्य स्थगित गरिएको छ । खोपको मौज्दात सकिएपछि अस्पतालले सूचना नै जारी गरेर यसबारे सर्वसाधारणलाई जानकारी गराएको हो ।

निःशुल्क खोप रोकिए पनि कुकुर वा अन्य जनावरको टोकाइबाट पीडित भई आउने बिरामीहरूका लागि अस्पतालले वैकल्पिक व्यवस्था भने खुला राखेको छ । उहाँले भन्नुभयो, ‘हामीसँग मौज्दात शून्य भएकाले निःशुल्क दिन असमर्थ भएका हौँ । तर, बिरामीले बाहिरबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मी मार्फत लगाइदिने व्यवस्था मिलाएका छौँ ।’

सरकारी अस्पतालमा निःशुल्क पाइने खोप नहुँदा स्थानीय बासिन्दा महँगो मूल्यमा बाहिरबाट खोप किन्न बाध्य भएका छन् । विशेषगरी ग्रामीण र न्यून आर्थिक अवस्था भएका बिरामीहरू एआरभी अभावका कारण बढी मर्कामा पर्ने देखिन्छ । जिल्ला अस्पताल विकास समिति, बझाङका अध्यक्ष विरेन्द्रबहादुर खड्काले खोपको सहज आपूर्तिका लागि प्रदेश सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको र खोप उपलब्ध भएलगत्तै पुनः सेवा सुचारु गरिने बताउनु भयो ।

सत्यराज सिंह

अन्य

भिडियो