राष्ट्रिय मानव अधिकार आयोगले ०८२ भदौ २३ र २४ गतेको नवयुवा पुस्ताको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाबारे अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि ०८३ जेठ १३ नेपाल सरकारलाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार घटनामा मानव अधिकार उल्लङ्घकर्तालाई कानुन बनाएर कारबाही गर्न सिफारिस गरिएको हो ।
आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसमेतलाई मानव अधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानुन निर्माण गरेर कानुनबमोजिम कारबाही गर्न आयोगले सुझाव दिएको छ ।
प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनाका सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
‘कारागार प्रशासकले आफूले दबाबमा उक्त पत्रमा हस्ताक्षर गरेको हो भनी बयानमा उल्लेख गरेपनि सो विषयमा तत्कालै कतै बोलेको वा जानकारी गराएको भन्ने पाइएन,’ आयोगले भनेको छ ।
कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबिझ्याईंकर्तालाई कारागार बाहिर पठाउन सहयोग गरी नागरिकहरुको मानव अधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नख्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यकाका तत्कालिन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई पनि अनुसन्धान तथा कारबाही गर्न सिफारिस गरिएको छ ।
सुरक्षा संयन्त्रको असफलताका कारण सिंहदरबार, बानेश्वर र राष्ट्रपति भवन जस्ता अति संवेदनशील क्षेत्रमा समेत सुरक्षा शून्यता सिर्जना भएको र कानुन तथा व्यवस्था पूर्ण रूपमा विघटन भएको आयोगको ठहर छ ।
सुरक्षा निकायहरू प्रभावहीन र निष्क्रिय रहँदा आन्दोलनकारी र सुरक्षाकर्मीबिच निरन्तर झडप भएको, सार्वजनिक र निजी सम्पत्तिमा ठुलो क्षति पुगेको र धेरै नागरिकहरूले ज्यान गुमाउनु परेको प्रतिवेदनमा औँल्याइएको छ ।
आन्दोलनपूर्व र प्रदर्शनपश्चात् अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असिममान बस्नेत, भाग्य न्यौपाने, टङ्क दाहाल, भिक्टर पौडेललगायतलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा रास्वपाका सांसदहरु पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संगौला, सुधन गुरुङ, आशिका तामाङ, शोम शर्मा, हरि ढकाललाई कारबाहीको लागि सिफारिस गरिएको छ ।