INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनःनिर्माणको क्रममा अपाङ्गतामैत्री संरचना बनाउन माग

भूकम्प पछिको पुनःनिर्माणका क्रममा निर्माण गरिने भौतिक संरचना अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिहरूले माग गरेका छन् ।

भुकम्प पश्चात पुनःनिर्माणको काम दसैँ तिहार पछि तीव्र रूपमा अघि बढाउने तयारी गरिए अनुसार अब बनाइने सरकारी, निजी तथा सामुदायिक सबै प्रकारका भवन अपाङ्गतामैत्री बनाउन प्रगतिशील अपाङ्ग सङ्घका अध्यक्ष अमर गुरूङले माग गरे ।

जिल्लामा अहिले महिला तथा बालबालिका कार्यालयको भवन मात्र अपाङ्गतामैत्री छ । ‘हामी हाम्रो गुनासो राख्न कार्यालय प्रमुख भएको ठाउँमासमेत जान सक्दैनौँ ।’-गुरूङले भने । हृवील चियर र सेतो छडीको सहायताले आफूहरू कार्यालय प्रमुख भएको ठाउँ सम्म पुग्न नसक्ने गुरूङको भनाइ छ ।

‘सेवा लिनै जानु पर्‍यो भने पनि माथिल्लो तलासम्म पुगेर सेवा लिन सक्दैनौँ ।’-गुरूङको गुनासो छ । ‘यस विषयमा पटक/पटक हामीले सम्बन्धित ठाउँमा कुरा राखेका छौँ । तर, हाम्रो मागको सुनुवाइ भएन ।’-गुरूङले भने । अहिले निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय भवन पनि अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।

अब पुनःनिर्माणको चरणमा बनाइने संरचनालाई अपाङ्गतामैत्री बनाउन अहिलेदेखि नै ध्यान दिनुपर्ने गुरूङको माग छ । ‘इष्टमेट बनाउँदा नै यसतर्फध्यान दिनुपर्छ ।’-गुरूङले भने-‘बनाइसकेपछि त्यसलाई चेञ्ज गर्न निकै गाह्रो हुँदोरहेछ ।’

जिल्लाका अधिकांश सरचना ०७२ वैशाख १२ को भूकम्पका कारण भत्किएका छन् । अपाङ्गता भएकाहरूको समस्या समाधानका लागि आफुहरू कटिबद्घ रहेको प्रमुख जिल्ला इन्जिनियर होमनाथ पौडेलले बताए ।

‘सरकारी प्रावधान नै अहिले सरकारी कार्यालय अपाङ्गतामैत्री हुनुपर्छ भन्ने छ ।’-पौडेलले भने । पुनःनिर्माणको चरणमा यसतर्फध्यान दिने उनले प्रतिबद्धता जनाएका छन् ।

अन्य

भिडियो