INSEC Online

📅 २०८३ जेष्ठ २१

हुरीबतासले १ सय ७ घरगोठ र विद्यालयमा क्षति

गुल्मीमा जेठ ११ र १२ गतेको हुरीबतासले १ सय ७ घरगोठ र सार्वजनिक संरचनाको छाना उडाएपछि जनजीवन प्रभावित भएको छ । हुरीबतासले जिल्लाका पाँच स्थानीय तहका नागरिकको घरगोठ, शौचालय तथा विद्यालय, सहकारी र मन्दिरका छाना उडाएर ठूलो भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर पर्वत कुमार केसीका अनुसार मालिका गाउँपालिकाका–४, ५, ६ र ७ मा मात्रै ७१ घरगोठ र सार्वजनिक संरचनामा हावाले क्षति गरेको छ ।

मालिका गाउँपालिका–७ घमिर ४५ घरगोठ, विद्यालय, सहकारी र मन्दिरको छाना हावाहुरीले उडाएको छ । मालिका गाउँपालिका–७ घमिरका टोप बहादुर कार्की, मञ्जु कार्की, भिम बहादुर विश्वकर्मासहितका परिवारको घरगोठ हावाहुरीले उडाएपछि छिमेकीकोमा आश्रय लिएका छन्। घमिरकै देविस्थान माविको छाना उडाएपछि बिद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ । स्थानीय सहकारी, भैरवकाली बोर्डिङ्ग स्कुल र घिमिरेहरु कुलपुजा गर्ने मन्दिरको छाना हावाहुरीले उडाएर भवनमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी इन्स्पेक्टर केसीले जानकारी दिनुभयो । त्यस्तै मालिका गाउँपालिका–४, ५ र ६ मा २६ घरगोठ, शौचालय र बिद्यालयको छाना उडाएर पूर्ण रुपमा क्षति पुराएको छ । मालिका गाउँपालिकाकै वडा नं १, २, ३, मा पनि ठूलो क्षति गरेको छ । तर, प्रहरीले विवरण सङ्कलन गरिरहेकाले पूर्ण विवरण प्राप्त नभएको केसीले बताउनुभयो ।

त्यस्तै मुसिकोट नगरपालिका–१ नेटा तथा पौदीअमराईमा २४ जनाको घरगोठ हावाहुरीले उडाएको छ । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष आनन्द श्रेष्ठका अनुसार स्थानीय धनिश्वर घिमिरे, रामु विक, कल्पना केसी लगायतका घर पूर्ण रुपमा क्षति भएकाले छिमेकीकोमा व्यवस्थापन गरिएको छ । उनीहरुलाई तत्काल नगरपालिका मार्फत त्रिपाल उपलब्ध गराएकाले थप राहतको लागि आवश्यक काम पनि सुरु भएको श्रेष्ठले बताउनुभयो । त्यस्तै तिम्ले प्रावि र थामडाँडा सहरी स्वास्थ्य केन्द्रको भवनको छाना पनि हावाले उडाएको छ । मुसिकोट नगरपालिका–२ का शुक्र बहादुर दमाई, वडा नं ३ का बिमल र लाल बहादुर सुनारको घरको छाना पनि हावाहुरीले उठाएर क्षति पुराएको छ । त्यस्तै छत्रकोट गाउँपालिका–४ श्रृङ्गाको श्रृङ्गा जनता माविको छाना पनि हावाले उडाएको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ दोहलीको सुर्योदय प्राविको भवनको छाना र सुकमाया थापाको घरको छाना उठाएको छ । मदाने गाउँपालिका–१ का आठ जनाको घरगोठको छाना हावाले उडाएर पूर्ण क्षति गरेको छ ।

 

टोपलाल अर्याल

अन्य

भिडियो