INSEC Online

📅 २०८३ जेष्ठ २१

२ सय ९ जनाले प्राप्त गरे आमाको नामबाट नागरिकता

विगत चार महिनामा २ सय ९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।

गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो भने पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो ।

सोही क्रममा सबै आवश्यक कागजी प्रक्रिया पूरा गरेर ०८२ माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यसअनुसार नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिहरुले आवश्यक स्वघोषणा र प्रक्रिया पूरा गरेर वंशजका आधारमा नागरिकता प्राप्त गर्न थालेका हुन् ।

त्यसै क्रममा जिल्ला प्रशासन कार्यालयबाट गत ०८२ माघ महिनाको ६ गतेदेखि ०८३ जेठ ९ गतेसम्म जम्मा २ सय ९ जनाले आमाको नामबाट वंशज नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

रासस

अन्य

भिडियो