नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कपिलवस्तु कारागारबाट फरार भएका तीन जना कैदीबन्दीलाई प्रहरीले विभिन्न स्थानबाट ०८३ वैशाख ३० गते गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकामा वाणगंगा नगरपालिका–२ का डाँका मुद्दाका अभियुक्त विष्णु श्रेष्ठ, यशोधरा गाउँपालिका–२ भडियारका ज्यान मार्ने मुद्दाका अभियुक्त वरसाती मुसलमान तथा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१५ का डाँका मुद्दाका अभियुक्त मुक्ति प्रसाद खनाल रहेका छन् । जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले उक्त जानकारी दिनुभयो ।
कारागार प्रशासनका अनुसार प्रदर्शनका क्रममा कपिलवस्तु कारागारबाट फरार भएका ४ सय ३० जना कैदीबन्दीमध्ये हालसम्म ३ सय १९ जना गिरफ्तार भइसकेका छन् भने अझै १ सय ११ जना फरार रहेका छन् । हाल कारागारमा २ सय ८६ जना कैदी र १ सय ५ जना थुनुवा गरी कुल ३ सय ९१ जना कैदीबन्दी रहेका छन् ।
कारागार प्रशासनका अनुसार कारागारमा १८ वर्षदेखि ८३ वर्ष उमेर समूहसम्मका कैदीबन्दी रहेका छन् । कर्तव्य ज्यान मुद्दाका अभियुक्त बुद्धभूमि नगरपालिका–६ का ८३ वर्षीय तिलकराम लोहार र विजयनगर गाउँपालिका–५ का ८१ वर्षीय चन्द्रबहादुर श्रीस कारागारका ज्येष्ठ कैदीबन्दीमध्ये रहेका छन् ।