भुकम्पपछिको पुनर्निर्माण कार्य सुस्त हुँदा विद्यार्थीहरू अझै टहरामै बसेर अध्ययन गर्न बाध्य छन् । भिमाद नगरपालिका–४ बराहापानी स्थित बालनिकेतन आधारभुत विद्यालयमा बालबालिकाहरू अझै पनि टहरामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् ।
सो विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा)ले तीन कोठे भवनको निर्माण सुरू गरेपनि पूरा नभएको हुँदा विद्यार्थीहरु अझै टहरामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् ।
विद्यालयकी प्रधानाध्यापक प्रेमकुमारी गुरुङले नयाँ भवन निर्माण सम्पन्न भएपछि मात्र विद्यार्थीहरूलाई नयाँ भवनमा सारिने बताइन् । सो विद्यालयको कक्षा ५ का विद्यार्थीहरूलाई भुकम्प आएदेखि नै टहरामा राखेर पढाउन थालिएको प्रअ गुरुङले बताइन् ।
जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) तनहँुका प्रमुख सुर्य क्षेत्रीले पुनर्निर्माण भइरहेका विद्यालयहरूलाई सम्झौता अनुसार नै काम सम्पन्न गर्न निर्देशन दिइएको बताए ।
तनहँुमा चालु आर्थिक वर्षमा ५२ ओटा विद्यालयको पुनर्निर्माण भइरहेको छ । ति सबै विद्यालयहरू यही आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्न निर्देशन दिइएको क्षेत्रीले बताए ।

