संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने स्पष्ट व्यवस्था गरिएको भएपनि पञ्चेश्वर गाउँपालिका–२ माहाकालीका स्थानीयले खानेपानी तथा सरसफाई गर्ने पानीको उपभोगबाट आपूmहरू वञ्चित भएको गुनासो गरेका छन् ।
नजिक भएका पानीका मुहानहरू सुकेको र खानेपानीका लागि सरकारले वैकल्पिक व्यवस्था नगरिदिएका कारण आपूmहरू पानीको उपभोगबाट वञ्चित भएको उनिहरूको गुनासो छ । अहिले पानीको अभावका कारण आपूmहरूलाई निकै समस्या भएको माहाकालीका स्थानीय मोहनबहादुर चन्दले बताए ।
निर्वाचनका बेला प्रत्येक उम्मेदवारलाई खानेपानीको माग पूरा गर्ने शर्तमा मतदान गरको भएपनि आपूmहरूको समस्या कसैले समाधान नगरेको उनको आरोप छ ।
“पानीको अभावका कारण यहाँका महिलाहरूले रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।”–स्थानीय कपला सार्कीले भने–“विगत तीन वर्ष अघिदेखि चितुवाको आतङ्कका कारण २३ जनाले ज्यान गुमाइसकेका कारण मनमा अनेक किसमका डर सामना गर्दै रातभर पानीको प्रतिक्षामा बस्नुपर्ने हुन्छ ।”
अहिले उक्त क्षेत्रका करिब ४ सय परिवार खानेपानी तथा सरसफाई गर्ने पानीको उपभोगबाट प्रत्यक्ष प्रभावित छन् । “यो वर्ष आकाशको पानी परेकाले त्यसैलाई जम्मा गरेर थोरै गुजरा चलाएका छौँ ।”–स्थानीय महेश चन्दले भने ।
बस्ती नजिक भएका खानेपानीका मुहानहरू सबै सुकिसकेकाले अब पम्पिङ गरेर पानी निकाल्नुको विकल्प नभएको स्थानीयको भनाई छ ।
गाउँपालिकाका अधिकांश ठाउँमा खानेपानीको अभाव भएकाले त्यसको समस्या समाधानतर्फ लागिरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
तीन वडाहरूमा अहिले खानेपानी योजना निर्माणकको काम चलिरहेको र आउँदा वर्षहरूमा खानेपानीबाट प्रभावित अन्य वडाहरूमा पनि योजना सञ्चालन गरिने उहाँको भनाई छ । नजिक पानीका मुहान नभएकाले समस्या भएको र गाउँपालिकाले नसकेपनि यहाँको खानेपानी समस्या समाधानका लागि विभिन्न दातृ निकाय र माथिल्लो सरकारलाई आग्रह गरिने चन्दले बताए ।
अहिले गाउँपालिका र फिल्याण्ड सरकारको सयहोगमा गाउँपालिकाका तीन वडाहरूमा ५ करोड बराबरका खानेपानी योजनाहरू संचालन भएको र आउँदा वर्षहरूमा अन्य ठाउँमा पनि खानेपानीको समस्या समाधानका लागि फिनल्याण्ड सरकारसँग आग्रह गर्ने उनको भनाई छ ।