पाल्पालाई देशकै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला’ घोषणा गरिएको छ । यसअघि जिल्लाका १० ओटै स्थानीय तहलाई पूर्ण संस्थागत प्रसुतीसेवा युक्त घोषणा गरिएको थियो ।
तानसेनमा जेठ ५ गते आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पालाई पूर्ण संस्थागत प्रसुतीसेवा युक्त तथा पूर्ण खोप सुनिश्चितता दिगोपना भएको जिल्ला घोषणा गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले सुत्केरी हुने महिलाहरूलाई अभिप्रेरित गरी स्वास्थ्य संस्थामा पठाउन चेतना अभिवृद्धि गर्ने स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थामा जिम्मेवारी निर्वाह गर्नुभएकोले जनप्रतिनिधिहरूले निरन्तर नेतृत्व गरेकोले यो उपलब्धी प्राप्त भएको बताउनुभयो ।
पाल्पामा कुल २ हजार २ सय ६२ जना महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् । त्यस्तै, प्रोटोकलअनुसार चार पटक गर्भ जाँच गराउनेको संख्या ९४.५६ प्रतिशत र तीन पटक प्रसूति जाँच गराउनेको संख्या ९७.५७ प्रतिशत रहेको छ । जिल्लाका १० ओटै स्थानीय तहका ८१ ओटै वडाहरूमा दिगोपना सुनिश्चित गरिएपछि घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । वैशाख १५ देखि ३१ गतेसम्म जिल्लाका सबै पालिकामा प्रमाणीकरण सम्पन्न गरी जिल्लास्तरीय घोषणा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जुनसुकै अभियान सफल हुन नेतृत्व गतिशील हुनुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पाल्पाका सरकारी स्वास्थ्य संस्थाहरूमा नागरिकको विश्वसनीयता बढ्दै गएको बताउनुभयो ।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा ७० मा र नवजात शिशु मृत्युदर प्रति १ हजार जीवित जन्ममा १२ मा ल्याउने सरकारको लक्ष्यलाई पूरा गर्न यसप्रकारको घोषणाले सहयोग पुग्ने बिश्वास ब्यक्त गरिएको छ ।