बरियारपट्टी गाउँपालिका–४ मामा घरमा बस्दै आएको तीन वर्षीय अभियान्सु कुमार यादवको हत्या घटनाको राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय तथा मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहाले ०८३ वैशाख ३१ गते संयुक्त रुपमा अनुगमन गरेको छ ।
आयोगका प्रदेश प्रमुख बुद्धनारायण सहनी, इन्सेकका प्रदेश संयोजक राजु पासवान, इन्सेक प्रतिनिधि दुर्गा परियार, संजालकी संयोजक देवकुमारी महराको संयुक्त टोलीले घटनाको अनुगमन गरेको हो । अनुगमनको क्रममा वैशाख २६ गते घरबाटै हराएको बालकको शव घर नजिकैको पोखरीको डिलमा हात काटिएको अवस्थामा भेटिएको बालककी हजुरआमा फुलो देवी यादवले बताउनु भयो । आँगनमा खेल्दै गरेको बाबुलाई छोडेर घर भित्र गएको थिएँ, बाहिर आउदा बाबु थिएन । सबै तिर खोजी गर्दा नभेटेपछि प्रहरीलाई पनि खबर गरिएको थियो । सबैको अनुमान घर अगाडी रहेको पोखरीमा डुबेको हुन सक्ने भएर पोखरीमै खोज तलासमा केन्द्रित भएकोले अन्यत्र नखोजेको बताउनु भयो । हत्या कसले किन गर्यो पत्ता लगाई दिन र अपराधीलाई सजाय दिलाइ दिन अनुगमन टोलीलाई आग्रह गर्नु भएको थियो ।

आयोग प्रमुख बुद्धनारायण सहनीले घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकलाई भेटी जानकारी लिएको र घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको बताउनु भयो ।
इन्सेकका प्रदेश संयोजक राजु पासवानले बालकको हत्या अमानवीय ढंगले क्रुरतापूर्वक गरिएको भन्दै पीडितको न्यायका लागि सरोकारबलाले गम्भीर रुपमा अनुसन्धान गरी अपराधिको खोजलतास गर्नुपर्ने बताउनु भयो ।
एसपी बासुदेव पाठकले घटनाको जानकारी हुनासाथ प्रहरी परिचालन गरी बालकको खोज तलास गरे पनि मृत अवस्थामा मात्र फेला पार्न सकेको बताउनु भयो । बालकको हत्या कसले किन गरेको विषयमा अनुसन्धान भइरहेकोले आरोपितलाई चाडै गिरफ्तार गरी घटनाको कारण पत्ता लगाउने एसपी पाठकले बताउनु भयो । शवको पोष्टमार्टम वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैशाख २९ गते गरिएको थियो ।
त्यसैगरी उक्त टोलीले वैशाख ३० र ३१ गते औरही गाउँपालिका–३ का ३१ वर्षीय बिरेन्द्र साहलाई वडा अध्यक्ष जिवछ यादवले रुखमा बाधेर कुटपिट तथा दुर्व्यवहार गरेका घटनाको अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले औरही गाउँपालिका–३ का ३१ वर्षीय बिरेन्द्र साहसँग भेट गरी घटनाको जानकारी लिएको हो । पीडित साहका अनुसार वडा अध्यक्ष जिवछ यादवले नियतबस कुनै सहमती नगरी आफ्नो निजि जग्गाबाट बाटो निकाल्न जेसीबी सहित आफ्ना मान्छेहरु परिचालन गर्दै पर्खालहरु भत्काउन लाग्दा मैले विरोध गरेपछि हात रुखमा बाँधेको बताउँदै आफूले दिएको जग्गाबाट बाटो नलगी वडाध्यक्षले मनोमानी तरिकाले म लगायत त्यहाँ रहेका अन्य व्यक्तिहरुको जग्गामा रहेको पर्खाल भत्काएको बताउनु भयो । प्रतिकार गर्नेहरुलाई घरमा थुनेर बन्द गरेर गालिगलौज गर्दै कुटपिट तथा दुर्व्यवहार गरेको साहले आरोप लगाउनुभयो । वडाध्यक्षविरुद्ध वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको साहले अनुगमन टोलीलाई जानकारी गराउनु भयो । वडा कार्यालय, गाउँपालिका कार्यालयमा पनि टोलीले अनुगमन गरी घटनाबारे जानकारी लिएको थियो । त्यसैगरी जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका एसपी बासुदेव पाठकसंग पनि घटनाबारे जानकारी लिएको इन्सेकका प्रदेश संयोजक राजु पासवानले बताउनु भयो । पीडितले दिएको उजुरीको आधारमा अदालतबाट पक्राउ अनुमती लिए पनि आरोपित फरार रहेकोले खोज तलास भइरहेको एसपी बासुदेव पाठकले बताउनु भयो ।
