वैवाहिक बलात्कार गरेको कसुरमा एक पुरुषलाई जिल्ला अदालत पर्वतले दुई वर्ष ६ महिना कैद तथा जरिबानाको सजाय सुनाएको छ ।
मोदी गाउँपालिका–६ का ५१ वर्षीय पुरुषलाई जिल्ला अदालतका न्यायाधिस बासुदेव पौडेलको ०८३ वैैशाख २१ गतेकोे इजलासले दुई वर्ष ६ महिना कैद र ५० हजार रुपियाँ क्षतिपूर्ती भराउने फैसला गरेको हो ।
आरोपितले पत्नीलाई असक्त रहेको अवस्थामा समेत पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०८२ भदौ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई भदौ २९ गते गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएकोमा जिल्ला सरकारी वकिल कार्यालय पर्वतले असोज २३ गते जबरजस्ती करणी शिर्षकमा जिल्ला अदालत पर्वतमा मुद्धा दर्ता गरेको थियो । जिल्ला अदालतको असोज २३ गतेको इजलासले आरोपितसँग धरौटी माग गरेको भए पनि धरौटी बुझाउन नसकेपछि थुनामा पठाएकोमा आरोपित ०८२ कार्तिक २४ गते तोकिएको धरौटी रकम बुझाएर रिहा भएका थिए ।