INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मीका १० स्थानीय तहका बालबालिका ‘स्वर्णविन्दु प्राशन’बाट वञ्चित

गुल्मी जिल्लाका १० स्थानीय तहका बालबालिका ‘स्वर्णविन्दु प्राशन’ सेवाबाट वञ्चित भएका छन्। प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत हाल यो सेवा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र र रुरुक्षेत्र गाउँपालिकामा मात्र सीमित रहेको छ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले चैत महिनादेखि ‘स्वर्णविन्दु प्राशन’ खुवाउन सुरु गरेको थियो र हालसम्म दुई चरणमा कार्यक्रम सञ्चालन गरिसकेको छ। केन्द्रले वैशाख ११ गते नयाँ तथा पुराना दुवै बालबालिकालाई उक्त औषधि खुवाएको जनाएको छ। तर, बजेट अभावका कारण सदरमुकाम बाहिर सेवा विस्तार गर्न नसकिएको केन्द्रका निमित्त प्रमुख जीवन बस्यालले जानकारी दिनुभयो।

रुरुक्षेत्र गाउँपालिकाले भने आफ्नै बजेटबाट वैशाख ११ गतेदेखि अभियान सुरु गरेको छ। बलेटक्सार र रिडीस्थित आयुर्वेद औषधालयमार्फत पहिलो चरणमा ७ सय बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ खुवाउने लक्ष्य राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक इन्द्रदेव पौडेलले बताउनुभयो। हाल पालिकाभरका बालबालिकालाई ती दुई केन्द्रबाट मात्रै सेवा दिइँदै आएको छ।

समग्र स्वास्थ्य सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ‘स्वर्णविन्दु प्राशन’ खुवाइने गरिएको हो। आयुर्वेदिक विधिबाट तयार गरिएको यस औषधिले बालबालिकाको स्मरण शक्ति, शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रकी डाक्टर अञ्जुली पौडेलले बताउनुभयो। उहाँका अनुसार चिकित्सकीय सल्लाहअनुसार करिब ३० डोजसम्म सेवन गर्दा अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

यद्यपि, जिल्लाका सबै बालबालिकाले यो सेवा पाउन सकेका छैनन्। हाल रेसुङ्गा नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहमा ‘स्वर्णविन्दु प्राशन’ सेवा नपुगेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। स्थानीय तहले बजेट तथा कार्यक्रम तय गरेमा आवश्यक अभिमुखीकरण, समन्वय र प्राविधिक सहयोग गर्न सकिने बस्यालले बताउनुभयो।

मालिका गाउँपालिका–६ का पूर्व वडाध्यक्ष शोभाखर गिरीले राज्यले बालबालिकाबीच विभेद गर्न नहुने बताउँदै दुर्गम क्षेत्रका बालबालिका सेवा पाउनबाट वञ्चित हुनु अन्यायपूर्ण भएको गुनासो गर्नुभयो। उहाँले सरकारका विभिन्न तहबीच समन्वय अभावका कारण यस्तो अवस्था आएको उल्लेख गर्नुभयो।

केन्द्रका अनुसार पहिलो चरण (चैत) मा ९ सय २५ र दोस्रो चरण (वैशाख) मा करिब १ हजार २ सय बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ खुवाइएको छ। जिल्लाभर सेवा विस्तारको माग बढ्दै गएको छ।

टोपलाल अर्याल

अन्य

भिडियो