INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेदका आधारमा कुटपिट गरेको भन्दै आरोपित गिरफ्तार

११ वर्षीय दलित बालक खगेन्द्र विकमाथि जातीय विभेदका आधारमा धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा प्रहरीले गंगादेव गाउँपालिका–५ फुल्बासका १८ वर्षीय टोपबहादुर खत्रीलाई ०८३ वैशाख १५ गते गिरफ्तार गरेको छ।

आरोपित खत्रीले वैशाख ११ गते १० वर्षीय बालक खगेन्द्र विकमाथि जातीय दुराग्रह राखी ज्यान मार्ने मनसायले आक्रमण गरेको पीडित पक्षले जनाएको छ। बालकलाई बचाउन गएका व्यक्तिहरूमाथि समेत उनले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको बताइएको छ। पीडित पक्षले वैशाख १२ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँमा उजुरी दिएका थिए।

घटनालाई बाल अधिकार तथा मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा लिँदै अधिकारकर्मीहरूले निन्दा गरेका छन्। घटनापछि पीडितलाई न्याय दिलाउन तथा अनुसन्धानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न माग गर्दै मानव अधिकारकर्मी, दलित अगुवा र पत्रकारहरूको टोलीले जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्मासँग वैशाख १४ गते भेट गरेको छ । विश्वकर्माले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले संविधान र कानुनको पालना सबै निकायले गर्नुपर्नेमा जोड दिँदै जात, धर्म वा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउनुभयो। उनले दोषीलाई ‘जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८’ बमोजिम कडा कारबाही हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

दलित अभियान रोल्पाका संयोजक मनबहादुर नेपालीले बालबालिकालाई हिंसामुक्त वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रहेको उल्लेख गर्दै पीडित बालकको उपचार, मनोसामाजिक परामर्श तथा सुरक्षाको पूर्ण प्रत्याभूति राज्यले गर्नुपर्ने माग गर्नुभयो।

घाइते बालकको उपचार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।

तिलक घर्तिमगर

अन्य

भिडियो