ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई थप उपचारका लागि जिल्ला बाहिर पठाएको छ ।
जिल्लामा पोषण सम्बन्धी सेवा नभएको र कुपोषित बालबालिकाको घरमा उपचार गर्न कठिन हुने भएपछि शाखाले अति कुपोषित १० जना बालबालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा रहेको पोषण पुर्नस्थापना केन्द्रमा उपचारका लागि रेफर गरिएको ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले बताउनु भयो ।
गाउँपालिका भरिका बालबालिकाको पोषण लेखाजोखा गरी महिला स्वास्थ्य स्वयंसेविकाले अति कुषोषण (रातो कार्ड) सङ्केत दिनुभएको छ । त्यसलाई पछि मैला स्वास्थ्य चौकीमा पुनः परीक्षण गर्दा पनि उस्तै सङ्केत देखिएकाले जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि सिफारिस गरिएको इन्चार्ज ढकालले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालमा समेत यो सुविधा नभएको र ती बालबालिकाको घरमै राखेर उपचार गर्दा जोखिम देखिएपछि जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि पठाउन सिफारिस गरिएको हो ।
जिल्लाबाहिर पठाइने ती बालबालिकालाई अस्पतालसम्म पुर्याउने व्यवस्था ताँजाकोट गाउँपालिकाले गर्ने र त्यसपछि उपचार र पालनपोषणको जिम्मा अस्पतालमा सञ्चालन गरिएको पोषण पुर्नस्थापना केन्द्रले जिम्मा लिने भएको छ ।
ग्रामीण क्षेत्रमा किशोरी अवस्थामै विवाह गर्नु, बच्चा जन्माएपछि पौष्टिक आहारा नखानु, जन्मेको ६ महिनापछि सुरुमै जङफुट लगायतका खाने कुरा खुवाउँदा कुपोषण बढ्दो क्रममा रहेको स्वास्थ सेवा कार्यालय हुमलाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनु भयो ।
उहाँका अनुसार यदि त्यस्तो कुपोषण भेटिए जिल्ला अस्पतालमै उपचारको व्यवस्था मिलाउन सक्ने वातावरण नरहेको बताउनु भयो ।