जुम्लाका दुई ग्रामीण अस्पताल समयमा निर्माण नहुँदा बिरामीलाई सदरमुकाम खलंगा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपर्ने बाध्यता बनेको छ । तीन वर्षमा निर्माण भएर सञ्चालनमा आउनु पर्ने अस्पताल सात वर्षसम्म पनि निर्माण नहुँदा बिरामीलाई टाढा गएर उपचार गर्नुपर्ने बाध्यता बनेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मा देशभरका स्थानीय तहमा ५ देखि १५ शैयाका अस्पताल निर्माण गर्ने योजना अघि सार्नुभएको थियो । सोहीअनुसार कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि छनोट भए । त्यसमा जुम्लाका आठ स्थानीय तहमध्ये कनकासुन्दरी र तिला गाउँपालिका छनोटमा परेका थिए ।
कनकासुन्दरीमा १५ र तिलामा १० शैया क्षमताका अस्पताल निर्माण हुने निश्चित भएको थियो । कनकासुन्दरी गाउँपालिकाका निवर्तमान अध्यक्ष नरवीर रावतले ०७७ मंसिरमा अस्पतालको शिलान्यास गर्नुभयो । कनकासुन्दरी गाउँपालिकाको हाटसिंजामा निर्माण हुने गरी शिलान्यास भएको अस्पताल सात वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
कुल १८ करोड ५० लाख रुपियाँको लागत स्टमेट भएपनि निर्माण कम्पनीले १५ करोड रुपियाँमा ठेक्का लियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि ठेक्का लिएको टिडीआर लक्ष्मी मजदुर निर्माण सेवाले पेश्की रकमसमेत लिएर बदमासी गरेपछि लामो समयदेखि कामले गति लिन सकेको छैन ।
कनकासुन्दरी–५ का २२ जना स्थानीयले ३५ सय वर्गमिटर जग्गा निःशुल्क दिएर अस्पताल निर्माण कार्य थालनी भएपनि निर्माण व्यवसायीको लापरबाहीले काम अघि नबढ्दा अस्पताल निर्माण अलपत्र परेको छ । गाउँमै विशेषज्ञ सेवा पाउने आशामा रहेका कनकासुन्दरीवासी सात वर्ष बितिसक्दा पनि अस्पताल निर्माण नभएपछि निराश भएका छन् ।
स्थानीय लोकजंग उपाध्यायले बिरामी हुँदा घर नजिकै स्वास्थ्य उपचार पाउँला भन्ने आशाले अस्पताल निर्माण गर्न नि:शुल्क जग्गा दिएपनि त्यसको प्रतिफल नआएको बताउनु भयो । ‘लामो समयसम्म न त अस्पताल बनेको छ । न त हाम्रो उपभोग गर्ने जग्गा नै रह्यो । यसले हामी निराश छौं,’उहाँले भन्नुभयो ।

सघन सहरी विकास तथा भवन निर्माणको आयोजनाले यसमा प्राविधिक सहयोग गरेको थियो । समग्र अस्पताल निर्माण तथा भुक्तानीको पूरा जिम्मेवारी पालिकाकै रहेको छ । एकातिर ठेकेदारको लापरबाही र अर्कोतिर गाउँपालिकाले ताकेता नगर्दा वर्षौंसम्म अस्पताल निर्माण भएन ।
वर्षौंदेखि अलपत्र अस्पताल निर्माणले अहिले गति लिएको कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले बताउनु भयो । ‘म आउँदा नै अस्पताल निर्माण अलपत्र थियो । ठेकेदार सम्पर्कमा थिएनन्,’ उहाँले भन्नुभयो, ‘म आएलगत्तै बुझ्दा मुख्य ठेकेदारको मृत्यु भएका कारण पनि निर्माण कार्य ढिला भएको रहेछ । पछि जुम्लाकै स्थानीय निर्माण व्यवसायीले जिम्मेवारी लिएपछि कामले गति लिएको छ ।’
कठायतले अख्तियारीसमेत ल्याएपछि काम अघि बढेको भन्दै सुरुमा निर्माण व्यवसायीले १ करोड २८ लाख रुपियाँ पेश्की लिएर काम अलपत्र पारेको थियो । पहिलो रनिङ बिल १ करोड ४ लाख भुक्तानी भइसकेको र दोस्रो रनिङ बिल ५५ लाखको भुक्तानी प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो ।
यस्तै, तिला गाउँपालिका–३ कुडारीमा निर्माणाधिन १० शैया क्षमताको अस्पताल पनि अझै सम्पन्न भएको छैन । तिलामा १० शैयाको अस्पताल तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले २१ मंसिर ०७७ मा शिलान्यास गर्नु भएको थियो । अस्पताल ०७९ माघ मसान्तसम्म निर्माण सम्पन्न हुने सम्झौता थियो । तर, अहिले सात वर्ष बितिसक्दा पनि अस्पताल पूर्ण रुपमा सम्पन्न भएको छैन । संघीय सरकारको १२ करोड रुपियाँ बजेटबाट निर्माण हुने उक्त अस्पताल समयमै सम्पन्न नहुँदा तिलाबासी पनि निराश भएका छन् । स्थानीय नागरिकहरु गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको पर्खाइमा छन् । सम्झौता मितिभन्दा धेरै समय ढिला भएपछि गाउँपालिकाले पटक–पटक म्याद थप गरेर काम अघि बढाएको छ ।
तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले आफू निर्वाचित भएर आइसकेपछि मात्रै दुई पटक म्याद थप गरेको बताउनु भयो । उहाँका अनुसार अस्पताल निर्माणका लागि खानी खड्का जेभी निर्माण सेवा र कमल जीत जेभी निर्माण सेवाले काम गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘अहिले अस्पताल अन्तिम चरणमा छ । चालु आर्थिक वर्षको असारसम्म हस्तान्तरण गर्ने निर्माण कम्पनीले भनेको छ ।’ 