लिसंखुपाखर गाँउपालिका—६ स्थायी घरभई नेपाल प्रेसमा कार्यरत ३० वर्षीय सुरज खड्कालाई ०८३ बैशाख ९ गते साँझ पत्रकार हुँ भन्दै गतल समाचार सम्प्रेषण गरी व्यक्तिको मानमर्यादा चोट पुर्याएको आरोपमा प्रहरीले चौतारा बजारबाट गिरफ्तार गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, सोहि नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोद नेपाल र नेपाली कम्युनिष्टी पार्टीका जिल्ला स्तरका कार्यकर्ता रामकृष्ण दंगालले आफुमाथि प्रतिष्ठामा अपमान हुने गरी समाचार सम्प्रेषण गरेको भन्दै ०८२ चैत १६ गते पत्रकार सुरज खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा छुट्टा छुट्टै उजुरी दिएका थिए ।
नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले ०८२ फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा फागुन २० गते चौतारा सागाचोकगढी नपा—९ मा मतदाताहरु जम्मा गरेर नगरपालिकाबाट बजेट दिन्छु भन्दै मतदाताहरुलाई प्रभावित गरेको भन्दै पत्रकार सुरज खड्काले भिडियो सम्प्रेषण गरेका थिए ।
त्यसैगरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोद नेपालले नगरपालिकामा कार्यरत कर्मचारीहरु सँग मनलाग्दी रकम जवरजस्ती संकलन गरी नेपाली कम्युनिष्ट पार्टीका दुइ जना उमेद्वारहरुलाई चुनाव खर्च दिएको भन्दै आरोपितले भिडियो सम्प्रेषण गरेको र नेकपा पार्टी कार्यकर्ता रामकृष्ण दंगालले निर्वाचनको मौन अवधिमा मतदाताहरुलाई पैसा बाडेर मत प्रभावित गरेको भिडियो पत्रकार सुरज खड्काले सार्वजनिक गरेका थिए ।
पत्रकार सुरज खड्काले भिडियो सर्वजनिक गर्दा असभ्य, अपमानित र गालिगलौज गरी सामाजिक प्रतिष्ठामा आच आउने शब्द प्रयोग गरेकोले कानुनी दायरामा ल्याउनुपर्ने निवेदकहरुको भनाई छ ।
पत्रकारको आचारसंहितालाई कायम राख्दै जिम्मेवार व्यक्तिहरुबाट भएको बेतिथिको भण्डाफोर गर्ने प्रयास गर्दा मुद्दा लगाएर दुःख दिन खोजेको पत्रकार सुरज खड्काको भनाई छ ।
पत्रकार सुरज खड्कालाई बिशेष ऐन अर्न्तगतको विद्युतिय कारोवार कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट अनुसन्धानको लागि अनुमति लिएर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसि शाहले बताउनुभयो ।