नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले ०८३ वैशाख ४ गते फैसला गरेको छ ।
कुलोपानीको निहुँमा खेतमा पानी लगाउँदा विवाद भएपछि सोही स्थानका ३६ वर्षीय रामबहादुर विसुन्केलाई जातीय आधारमा विभेदपूर्ण शब्द प्रयोग गर्दै ०८२ असार १९ गते धम्की समेत दिएको भन्दै पीडितले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
जिल्ला अदालतमा भदौ १९ गते दर्ता भएको भेदभाव तथा जातीय छुवाछुत मुद्दामा आरोपित पाठकलाई भदौ २० गते जिल्ला अदालतले १ लाख रुपियाँ धरौटीमा रिहा गरेको थियो ।
जिल्ला न्यायाधीश मनकुमारी जिएम् वि.क.को आदेशले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजायँ) ऐन, २०६८ दफा ३ र ४ अनुसार “जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नहुने” कानूनी प्रावधान बमोजिम कसुरदार पाठकले कसुर गरेको ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपियाँ जरिवाना गर्ने फैसला गर्नुभएको छ । साथै वडा सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले ६ महिना कैद र ५ हजार जरिवाना थप गरी १८ महिना कैद फैसला गरिएको छ । कसुरदारबाट १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले बताउनुभयो ।