स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसकेकाले अभाव भएको हो ।
स्थानीय तहले खरिदका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।
स्थानीय गोरीकला परियारले स्वास्थ्यकर्मीले गज ब्यान्डेज पनि बाहिरबाट किन्न लगाउने गरेको गुनासो गरिन् । ‘स्वास्थ्य चौकीमा निःशुल्क दिने औषधिको सूची मात्र छ ।’–उनले भनिन्–‘औषधि त सबै मेडिकलबाटै किन्नु परेको छ ।
सामान्य घाउ ड्रेसिङ गर्नका लागि गज ब्यान्डेज पनि नभएको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीका इञ्चार्ज दिनेश चौधरीले बताए । बिरामी जाँच गरेर औषधि किन्न निजी मेडिकलमा पठाउनु पर्ने बाध्यता रहेको उनले बताए ।
गाउँपालिकामा औषधि माग गर्दा महिनौँ दिन लाग्ने भएकाले उपचारका लागि आएका बिरामीलाई मेडिकल पठाउनु परेको चौधरीको भनाई छ ।
स्वाथ्य चौकीमा दैनिक ३० जनाको हाराहारीमा बिरामीहरू आउने गरेपनि औषधि नभएपछि जाँच मात्र गरेर मेडिकल पठाउने गरेको इञ्चार्ज चौधरीले बताए ।
सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।
स्वास्थ्य संस्थामा रूघाखोकी, दम, झाडापखाला र ससाना बालबालिकाहरू उपचारका लागि बढी आउने गरेका छन् ।
महिनाको दुईपटक औषधि आपूर्तिका लागि माग फारम भरी गाउँपालिकामा पठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
तिला गाउँपालिका–२ का वडाध्यक्ष कालिबहादुर रावतका अनुसार स्वास्थ्य संस्थाले समस्या भएको उल्लेख नगरेकाले औषधिको अभाव भएको हुनसक्छ ।
स्थानीय सरकार स्वास्थ्यका विषयमा गम्भीर रहेको भन्दै उनले प्राविधिक कारणले कहिलेकहीँ स्वास्थ्य संस्थामा औषधि नभएको हुनसक्ने बताए ।
तातोपानी गाउँपालिकाको तातोपानी स्वास्थ्य चौकीमा पनि औषधि अभाव देखिएको छ । स्वास्थ्य चौकीमा आवश्यक औषधि नभएको ल्याब असिष्टेण्ट हेमराज कठायतले बताए ।
गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गुरूप्रसाद चौलागाईँले औषधि अभाव नभएको दावी गरे ।