INSEC Online

📅 २०८३ जेष्ठ २१

 स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा बिरामी मारमा

खत्याड गाउँपालिका–११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्र लामो समयदेखि डाक्टरविहीन हुँदा स्थानीय नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन थालेका छन् । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरे पनि दुर्गम क्षेत्रका बासिन्दाले अझै सहज पहुँच पाउन सकेका छैनन् ।

खत्याड गाउँपालिका–११ का धनराज कार्कीले आफ्ना अपांगता भएका नातिका लागि चिकित्सकीय सिफारिस लिन स्वास्थ्य केन्द्र पुगे पनि त्यहाँ डाक्टर नहुँदा रित्तै फर्किनु परेको गुनासो गर्नुभयो । डाक्टर अभावकै कारण सामान्य उपचारका लागि समेत बिरामीहरू घण्टौँ हिँडेर जिल्ला सदरमुकाम गमगढी वा अन्य ठाउँ पुग्न बाध्य छन् ।

स्वास्थ्य केन्द्रमा रहेको एक्सरे लगायत उपकरण पनि प्रयोगविहीन बनेका छन् । स्थानीय मायादेवी वडका अनुसार हाडजोर्नी तथा अन्य समस्या लिएर आउने बिरामीहरूले उचित जाँच नपाई फर्किनु परिरहेको छ ।

यसअघि स्वास्थ्य केन्द्रमा डाक्टर विकास धिताल काजमा कार्यरत हुनुहुन्थ्यो । उहाँको काज अवधि सकिएपछि केन्द्र डाक्टरविहीन बनेको हो । स्थानीय चन्द्रबहादुर कार्कीका अनुसार डाक्टर अभावसँगै टेलिमेडिसिन र एक्सरे सेवा समेत प्रभावित भएका छन् ।

हाल स्वास्थ्य केन्द्रमा दैनिक २० देखि ३० जना बिरामी आउने गरेका छन् । गर्मी बढेसँगै रुघाखोकी, ज्वरोलगायतका बिरामीको संख्या पनि बढ्दो छ । औषधि पर्याप्त भए पनि डाक्टर नहुँदा बिरामीहरू निजी मेडिकलमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएको गोकर्ण कार्कीले बताउनु भयो ।

रातापानी स्वास्थ्य केन्द्रका सिनियर अहेब नारायण कार्कीका अनुसार डाक्टर अभाव भएको करिब एक महिना भइसकेको छ । यसबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको उहाँले बताउनु भयो । उहाँका अनुसार हाल प्राथमिक उपचार सेवा दिइए पनि जटिल समस्या भएका बिरामीलाई सेवा दिन समस्या भइरहेको छ ।

रातापानी स्वास्थ्य केन्द्रमा खत्याडका साथै छिमेकी जिल्ला बाजुरा र हुम्लाबाट समेत बिरामी आउने गरेका छन् । तर डाक्टर अभावकै कारण धेरैजसो बिरामी उपचारविहीन फर्किन बाध्य छन् ।

दुर्गम क्षेत्रका नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यले दरबन्दीसहित स्वास्थ्यकर्मी तत्काल खटाउनुपर्ने माग स्थानीयवासीले गरेका छन् ।

नन्द बहादुर रोकाया

अन्य

भिडियो