जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी र बिरामीका आफन्तले सास्ती व्यहोर्नु परेको छ ।
धनकुटा जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा स्वास्थ्य सेवा लिन आउने बिरामीले आफन्त वा दाताका भरमा रगत जोहो गरेर उपचार गराउनुपर्ने बाध्यात्मक अवस्थाले सास्ती व्योहोर्नु परिरहेको छ ।
जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा विशेष गरी आकस्मिक अवस्थामा ब्लड चाहिने गर्भवती, सुत्केरी, दुर्घटनामा परेका बिरामीहरूले सास्ती खेप्नुपरेको छ । रगत आवश्यक पर्दा बिरामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सर्वसाधारण र स्वास्थ्यकर्मीको भर पर्नुपर्ने बाध्यता छ । जिल्ला अस्पताल पुग्नेलाई रगत आवश्यक पर्छ । तर, अस्पतालमा ब्लड बैङ्क छैन । बिरामी र आफन्तले ब्लडकै लागि भौतारिनु परेको छ ।
पाख्रिबास नगरपालिका–३ की एक जना गर्भवती प्रसूति सेवा लिन ०८२ चैत ७ गते जिल्ला अस्पतालमा भर्ना हुनुभयो । अस्पताल भर्नालगत्तै उहाँमा रगतको कमी देखियो । स्वास्थ्यकर्मीले बिरामीका आफन्तसँग रगत खोज्न आग्रह गर्नुभयो । गाउँकै चिनेका सन्तोष सुवेदीले जिल्ला अस्पताल, धनकुटामा सुत्केरीको लागि बी पोजेटिभ रगत आवश्यकता रहेको सामाजिक सञ्जालमा लेख्नुभयो । सामाजिक सञ्जालमा रक्तदानका लागि अनुरोध गरेको देखेपछि नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जिल्ला अस्पताल, धनकुटामा पुगेर गर्भवतीलाई रगत दिनुभयो । जसको कारण भर्ववतीले सुरक्षित बच्चा पाउन सक्नु भयो । यो त पछिल्लो उहादरण मात्रै हो । यसरी दिनहुँजसो ब्लड बैंक खोज्नै बिरामी अस्पताल पुग्ने गर्छन् ।
धेरैको लागि आफ्नो सम्पर्कमा आएका साथीहरूबाट रगत व्यवस्थापनमा सहयोग गर्ने गरेको सुवेदीले बताउनु भयो । विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ । यस्तो बेला चिनेजानेका व्यक्तिहरुले रगतको लागि फोन गर्ने गर्छन्, सुवेदीले भन्नुभयो, ‘आफूले प्रायजसो रगत चाहियो भनेर सामाजिक सञ्जालमा राखेर पटकपटक उपचार गराएको छु ।’
चिनजान र पहुँच भएकाहरुले सहज रुपमै सुरक्षाकर्मीबाट रगत माग्ने गर्छन् । तर, गाउँबाट आएकाहरु रगतकै लागि अस्पताल पुग्दा भौतारिनु पर्ने बाध्यता छ । जिल्ला अस्पतालमा रगतका लागि दाताको भर पर्नु पर्ने एक मात्र विकल्प रहेको जिल्ला अस्पताल, धनकुटाका प्रमुख सन्दीप राईले बताउनु भयो । आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गर्नु पर्ने बाध्यता छ । रगत राख्न त्यो प्रकारको औजार उपकरण हामीसँग छैन्, राईले भन्नु भयो । बिरामीलाई चाहिने बेला आफन्तमार्फत खोजी गर्न पठाउनु पर्ने बाध्यता छ ।
अस्पतालमा धेरैजसो रगत दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुग्ने गरेको स्वास्थ्यकमीहरुको भनाइ छ । पछिल्लो समय हरेक दिवसमा तथा विशेष कार्यक्रम पारेर रक्तदान कार्यक्रम हुँदै आएको भएपनि धनकुटामा ब्लड बैंक नहुँदा समस्या हुँदै आएको छ । तर, धनकुटामा क्युक रेस्पोन्स टीमले रक्तदान गर्ने मानिसको पहिचान गरि रक्तदान गर्ने तयारीमा राख्दा रगत उपलब्ध गराउन सजिलो हुने गरेको टीमका बालानन्द दाहालले बताउनु भयो । जिल्ला अस्पताल, धनकुटामा ब्लड बैंक स्थापनाको लागि कसैले पहल नगर्दा समस्या भएको बिरामीका आफन्तको आरोप छ ।
यद्यपी जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया भने अघि बढाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको व्यवस्थापनमा स्थापना हुने ब्लड बैंकका लागि आवश्यक सामग्री खरिद गर्ने निर्णय गरिएको हो । ब्लड बैंक खरिद इकाई समितिको बैठकले अस्पतालमा स्थापना हुन लागेको ब्लड बैंकका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरेको समितिका संयोजक ठगेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले ब्लड बैंक सञ्चालनका लागि आवश्यक करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको उपकरण खरिद गर्ने निर्णय गरेको हो।
आवश्यक उपकरण खरिदका लागि सूचना प्रकाशन गर्ने र आवश्यक सामग्रीको व्यवस्था गर्ने तयारीमा रहेको अधिकारीको भनाइ छ । जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएपछि धनकुटासहित आसपासका जिल्लाका बिरामीलाई ब्लड उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।
जिल्लामा ब्लड बैङ्क सञ्चालनमा नहुँदा बिरामी तथा बिरामीका परिवारहरुले सास्ती खेप्नु परेको भएपछि बजेट व्यवस्था मिलाएर यस वर्ष भित्र व्लड बैँक सञ्चालन गर्ने तयारीमा रहेको नेपाल रेडक्रस सोसाइटी धनकुटाका सभापति छत्र कुमार श्रेष्ठको भनाइ छ ।