INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राही प्रभावित

हुम्लाको एक मात्र जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य भएका छन् । सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा आवश्यक चिकित्सक नहुँदा उपचार सेवा प्रभावहीन बन्दै गएको छ । उपचारका लागि अस्पताल पुग्ने बिरामीहरूलाई सामान्य परीक्षणपछि नै अन्यत्र रिफर गरिने प्रवृत्ति बढ्दो छ ।

केही दिन अघि चंखेली गाउँपालिका–२ का एक पुरुष भिरबाट लडेर गम्भीर घाइते भएपछि जिल्ला अस्पताल ल्याइएका थिए । तर अस्पतालले उपचार सम्भव नभएको भन्दै अन्यत्र रिफर गरेको थियो । सुर्खेत लैजान सिमकोट विमानस्थल पुर्‍याइएका उनको त्यहीँ मृत्यु भएको आफन्तले बताएका छन् ।

त्यसैगरी, यहि महिना नै चंखेली गाउँपालिका–४ की ३४ वर्षीया बास्ना शाही र सिमकोट गाउँपालिका–४ बुराउँसेकी २५ वर्षीया अस्मिता बुढा (लामा) लाई सुत्केरी सेवा आवश्यक पर्दा पनि जिल्ला अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको थियो ।

सिमकोट–५ की बेलु रोकायाले ५ वर्षीय छोराको उपचारका लागि अस्पताल पुगे पनि चिकित्सक नभेटिएको गुनासो गर्नुभयो । उहाँका अनुसार नर्सले उपचार गरिएको थियो । सिमकोट गाउँपालिका–७ डाँडाँफयाकी लालपुरी सुनारले बिरामी छोरीलाई लिएर दुई घण्टा पैदल हिँडेर अस्पताल पुगे पनि स्वास्थ्य परीक्षणपछि रिपोर्ट तत्काल नपाएको बताउनु भयो ।

जिल्ला अस्पतालमा यस्ता घटना प्रतिनिधिमूलक मात्र हुन् । अधिकांश बिरामी उपचारभन्दा बढी रिफर प्रक्रियामा निर्भर हुनुपर्ने अवस्था रहेको छ । अस्पतालमा पर्याप्त चिकित्सक, औषधि तथा उपकरणको अभाव देखिएको छ ।

१५ शैयाको अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको विगतदेखि नै अभाव हुँदै आएको छ । अस्पताल प्रमुख डा. उमाकान्त तिवारीका अनुसार नवौँ तहका तीन जना विशेषज्ञ चिकित्सक (स्त्री तथा प्रसुती रोग विशेषज्ञ, जनरल सर्जन र अर्थोपेडिक्स) का दरबन्दी भए पनि सबै पद रिक्त छन् ।

त्यस्तै, चार जना मेडिकल अधिकृतको दरबन्दीमध्ये एक जना मात्रै कार्यरत रहेका छन् भने अन्य चिकित्सक अध्ययन तथा बिदामा रहेको जनाइएको छ । हाल अस्पतालमा एक जना स्वयंसेवी चिकित्सक र दुई जना छात्रवृत्ति करारका चिकित्सक कार्यरत छन् ।

डा. तिवारीले दुर्गम क्षेत्र भएकाले विशेषज्ञ चिकित्सक आउन नमान्ने समस्या रहेको बताउनु भयो । ‘जनशक्ति अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको छ,’उहाँले भन्नुभयो ।

अस्पतालले इमर्जेन्सी, ल्याब, एक्स–रे तथा सुत्केरी सेवा सञ्चालनमा रहेको दाबी गरे पनि पर्याप्त जनशक्ति अभावले सेवा प्रभावकारी हुन सकेको छैन । स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक अधिकार भए पनि हुम्लाका नागरिकहरू आधारभूत उपचारबाट समेत बञ्चित भइरहेका छन् ।

नन्द सिंह

अन्य

भिडियो