INSEC Online

📅 २०८३ जेष्ठ २१

इनिसा विक हत्या प्रकरणका चारै जनालाई बाल सुधार गृहमा पठाउने आदेश

बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनाका चार जना आरोपितहरुलाई जिल्ला अदालत सुर्खेतले बाल सुधार गृह पठाउने आदेश दिएको छ ।  चैत १७ गते अदालतका न्यायाधीस दीपक ढकालको इजलासले आरोपित बालकहरुलाई बाल सुधार गृह पठाउने आदेश दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिबारी उज्ज्वलदेव राववले जानकारी दिनुभयो । ‘चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म बाल सुधार गृहमै राखेर मुद्दा अघि बढाउने आदेश भएको छ,’सूचना अधिकारी उज्वल रावलले भन्नुभयो । अदालतमा चैत १६ गतेदेखि थुनछेक बहस चलेको थियो । चैत १७ गते पनि साढे आठ बजेसम्म पीडत पक्षका आफन्तहरु अदालतको गेटमै धर्ना बसेका थिए । अदालतको आदेश आएसँगै उनीहरु स्वागत गरेका छन् ।

प्रहरीले चैत ११ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दर्ता गराएको थियो ।

‎‎गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।

फागुन २३ गते शनिवार बिहान ६ बजे नै प्रयोगात्मक कक्षामा जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।  ‎‎प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे बालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका थिए । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २४  गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा फागुन २५ गते शवको पोष्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भएको थियो ।

मुख्य आरोपित भनिएका बालकले आफूले अन्य साथीहरुलाई सहयोगका लागि बोलाएको बयानमा भनेका थिए । त्यस्तै १५, १६ र १७ वर्षीय तीन बालकलाई २४ गते प्रहरीले गिरफ्तार गरेर अनुसन्धान गरेको थियो ।

घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको प्रहरीले भने सामूहिक नभएर एकल करणी भएको निष्कर्ष निकालेको थियो । यद्यपि, सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा भने सामूहिक बलात्कार भएको दाबी गरिएको थियो ।

२४ दिनसम्म उठेन शव

इनिसा विकको शव २४ दिनसम्म पनि उठ्न सकेको छैन । उनको शव अझै प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । शवको सद्गत बारे परिवारले अझै निर्णय गरेको छैन ।

मृतक इनिसाकी आमा तिला विकले छोरीको हत्यामा संलग्नहरुलाई अदालतले गरेको आदेशको सम्मान गर्दै आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष न्यायको आसा गरेको बताइन् । घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरिसकेको छ । फागुन २७ गते उक्त टोली सुर्खेतमा आएको थियो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो