INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुर निवासी २२ वर्षीया श्रृजना बुढाको ०८२ चैत १५ गते राती हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय मोे. आरिफ ढपाली, निजको आमा र दिदीलाई चैत १५ गते नै गिरफ्तार गरेको छ ।

आरोपितहरुले बुढाको हत्या गरी पहिचान मेटाउन आगो लगाएर कोरियनपुर स्थित सडकमा शव फालिएको भन्दै पीडितपक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

श्रृजनालाई जलेको अवस्थामा भेरी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चैत १५ गते बिहान १ः२० बजे मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको चार वर्षीया छोरी रहेको र पहिलो पतिसँग सम्बन्ध बिच्छेद भइसकेपछि उनी आरोपित ढपालीसँग विगत दुई वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चैत १५ गते जारी गरेको प्रेस विज्ञप्ती अनुसार ०८२ चैत १३ गते मृतकलाई आरिफले कुटपिट गरेको भनी प्रहरीमा खबर गरेपश्चात सोही दिन राती मो. आरिफलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी चैत १४ गते अब उप्रान्त झैझगडा नगर्ने र एक आपसमा मिलिजुली बस्ने गरी सहमति भएको जनाइएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम भेरी अस्पताल, नेपालगञ्जमा भइरहेको र रिपोर्ट अझै आइनसकेको बताइएको छ ।

ध्रुबराज शर्मा

अन्य

भिडियो